कांग्रेस केन्द्रीय समितिमा नेताहरूलाई आरजुको अनुरोध : गुटका नाममा आफैँमा बाझ्ने नगरौँ

राष्ट्रिय सभामा देशको नेतृत्व गर्न सक्नेलाई पठाउन सुझाव

शनिबार, १४ पुष, २०८०
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैँमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गरेकी छिन्। 

सानेपामा जारी केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकमा नेतृ राणाले नेताहरू आफैँमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताइन्। ‘हामी कांग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेको बाझ्यै हुन्छौँ, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ,’ उनले भनिन्, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैँमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिइरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदनुस्। तपाईंहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस्।’

प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य राणाले भनिन्, ‘हामी पटक-पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौँ। कहिले कहिले कार्यक्रम गर्दा अप्ठ्यारो पर्न आएको सुन्नमा आयो। तर, यो घरभित्रकै अप्ठ्यारो भएकाले बसेर सुल्झाउन सकिन्छ। जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ।’ 

केन्द्रीय सदस्य राणाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताइन्। मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुःखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताइन्। जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउनेभन्दा आशा जगाउने काम गर्नुपर्ने उनको भनाइ थियो। 

सांसद राणाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधानअनुरूप हाल्न सांसदहरूलाई सुझाव दिइन्। कृषि समिति सभापतिसमेत रहेकी राणाले केन्द्रीय समिति बैठकमा कृषिको बजेट न्यून रहेकोमा पनि असन्तुष्टि जनाइन्। 

रेमिट्यान्सपछि मुलुकको अर्थतन्त्रमा टेवा पुर्याइरहेको कृषिमा लगानी बढाउनुपर्ने, किसानले उत्पादन गरेको वस्तुले सहज बजार र सुपथ मूल्य पाउने वातावरण बनाउन ध्यानाकर्षण गराइन् 

युवा पलायन भइरहेका वेला कृषिमा आकर्षण हुने गरी रणनीति बनाउनुपर्ने उनको भनाइ थियो। अबको ५-१० वर्षमा देशमा युवा नहुने, सबै बाहिरी देशले लगिसक्ने भन्दै उनीहरू बस्ने वातावरण बनाउन जरुरी रहेको बताइन्। 

नेतृ राणाले मन्त्रीले काम गर्न नसक्नुमा कर्मचारीतन्त्रको पनि भूमिका रहेको बताइन्। ‘कांग्रेसका मन्त्रीसँग कर्मचारी मुभ हुँदैनन्। गाउँपालिका, नगरपालिकामा पनि उस्तै हालत छ,’ उनले भनिन्। यसमा गम्भीर रूपमा सोच्नुपर्ने उनको भनाइ छ। ‘सुशासन नै नहुने, केही नहुने खालको देश बनाउनुभएन। कर्मचारी युनियनको औचित्यमाथि पनि विमर्श हुन जरुरी छ,’ उनले भनिन्। 

केन्द्रीय सदस्य राणाले राष्ट्रिय सभामा देशलाई नेतृत्व गर्न सक्ने सक्षम र सम्मानित व्यक्तिहरू जानुपर्ने बताइन्। ‘राष्ट्रिय सभा भनेको जुनसुकै देशमा नेतृत्वमा गइसकेको, देशलाई हाँक्न सक्ने मान्छेहरू जम्मा हुने ठाउँ हो,’ उनले भनिन्। 

नेतृ राणाले केन्द्रीय समिति नियमित बस्दा पार्टीले गति लिने पनि बताइन्। ‘छिटो-छिटो बस्दा खुसी लागेको छ। यस बाग पार्टीले स्पिड लिएजस्तो लागेको छ। यसलाई राम्रो लक्षणको रूपमा लिएको छु,’ उनले भनिन्।

सुझावित समाचार