इजरायलले युद्ध नराेके बन्दी रिहाइ हुँदैनन् : हमास

बिहिबार, ५ पुष, २०८०
डिजिटल संस्करण

प्यालेस्टाइनी विद्रोही समूह हमासले युद्धको अन्त्य नभएसम्म गत इजरायल आक्रमणको समयमा बन्दी बनाएकालाई रिहा नगर्ने जनाएको छ। 

हमास लडाकुहरूले आफूसँग लगेका बन्दीहरूलाई रिहाइ गर्ने विषयमा इजिप्टको राजधानी काइरोमा इजरायल र हमासको राजनीतिक ब्युरो प्रमुखबीच वार्ता चलिरहेको वेला हमासले उक्त अडान सार्वजनिक गरेको हो। 

इजरायली युद्धबन्दीहरूलाई रिहाइ गर्ने पहिलो सर्त युद्धको अन्त्य हुनुपर्ने हमासको अडान छ। 

विश्वभरिबाट र खासगरी इजरायली जनताले बिराम भएर बन्दी रिहाइ भएजस्तै युद्धबिराम हुनुपर्ने दबाब इजरायलमाथि बढाएको वेला इजिप्ट सरकारको मध्यस्थतामा इजरायल र प्यालेस्टाइनबीच कायरोमा वार्ता सुरु भएको हो।

उता संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा समेत युद्धबिरामबारे नयाँ प्रस्ताव प्रस्तुत भएर मतदान हुने क्रममा छ। यसअघि दर्ता भएको प्रस्ताव अमेरिकाले भिटो प्रयोग गरेपछि अस्वीकृत भएको थियो।

पछिल्लो प्रस्तावलाई इजरायल र अमेरिकाले समेत स्वीकार गर्ने भाषा प्रयोग गरेर बैठकमा प्रस्तुत गर्ने तयारी भइरहेको युएन सचिवालयले जनाएको छ।

बुधबारका दिन नै प्रस्तुत गर्ने भनिएको प्रस्ताव अमेरिका र इजरायलले प्रस्तावको भाषामा असहमति जनाएपछि भोलि शुक्रबारका लागि सरेको छ।

हमास विद्रोही समूहले भने बन्दी रिहाइका लागि इजरायली आक्रमण पूर्ण रूपमा बन्द हुनुपर्ने सर्त राखेपछि मध्यपूर्वमा परिस्थिति नयाँ ढंगले विकसित हुने आकलन गरिएको छ। त्यसै पनि इजरायलमाथि युद्धबन्दी रिहाइ गर्ने दबाब इजरायली जनताबाटै चर्को रूपमा उठेको छ। गत साता मात्रै इजरायलमा युद्धबन्दी रिहाइका लागि नागरिकस्तरमा ठूलो प्रदर्शन भएको थियो। लगत्तै, हमासले कब्जामा लिएका बन्दीहरूमध्ये वृद्धहरूलाई रिहाइको अपिल गर्दै भिडियो सार्वजनिक भएको थियो। 

इजरायलले भने युद्धबिरामको सम्भावना नरहेको र हमास समूहको छिट्टै अन्त्य हुने कुरा बारम्बार दोहोर्याउँदै आएको छ।

गत ७ अक्टाेबरमा हमासले इजरायलमा आक्रमण गरेपछि २ सय ४० जना इजरायली र विदेशी नागरिकलाई नियन्त्रणमा लिएर आफ्नो आधारक्षेत्रमा लगेको थियो। 

गत नोभेम्बरमा कतारको मध्यस्थतामा दुवै पक्षबीच बन्दी आदान-प्रदानको सहमति भएपछि सयजना इजरायली र केही विदेशी नागरिकलाई हमासले रिहाइ गरेको थियो। तीन चरणमा रिहाइ भए पनि दुवै पक्षले एक-अर्कालाई सहमति उल्लंघन गरेको भन्दै वार्ता प्रक्रिया भंग गरेका थिए।

हालसम्म इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा २० हजार नागरिकको मृत्यु भएको छ। 

सुझावित समाचार