विमानस्थलबाट कहिले सुन, कहिले गाँजा या अन्य प्रतिबन्धित वस्तु आउनुलाई कसरी हेर्नुभएको छ ?
हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट कहिले सुन त कहिले गाँजा ठूलो परिमाणमा आइरहेको देखिन्छ । यसले हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामाथि चुनौती थपिँदै गएको संकेत गरेको छ । बिस्तारै तस्करीको ‘भोल्युम’ बढ्दै गएको संकेत देखिनुले भविष्यमा यसको परिमाण झनै बढ्ने अनुमान गर्न सकिन्छ । यसमा हाम्रो राजनीतिक नेतृत्व र त्यहाँ कार्यरत कर्मचारीको कमजोरी देखिएको छ । अहिले त सुन, लागु पदार्थजस्ता वस्तु आइरहेका छन् । कुनै दिन सुरक्षा चुनौती खडा गर्ने हतियार या विस्फोटक पनि नआउला भन्न सकिन्न । यसबाट विमानस्थलबाट अन्य अपराध पनि बढ्न सक्ने संकेत गरेको छ ।
हाम्रो विमानस्थलको सुरक्षा व्यवस्था कमजोर भएकाले यस्तो भएको त होइन ?
यसमा सुरक्षा व्यवस्थाको खासै ठूलो भूमिका हुँदैन । सबैजसो प्रतिबन्धित वस्तु भन्सार एरियाबाट आइरहेका छन् । ‘डिपार्चर एरिया’मा हाम्रो सुरक्षा संयन्त्रको पहुँच भए पनि ‘अराइभल एरिया’मा सुरक्षा संयन्त्रको भूमिका हुँदैन, किनकि उनीहरूको त्यहाँ पहुँच नै हुँदैन । यसमा त्यहाँ कार्यरत एजेन्सीहरूबीचको अविश्वास जिम्मेवार छ । अहिले आइरहेको सुन र गाँजालगायत वस्तुको परिमाणले भविष्यमा सुरक्षासम्बद्ध वस्तुसमेत आउन सक्ने चिन्ता बढाएको छ । यसतर्फ समयमै सचेत हुनुपर्छ ।
विमानस्थलको सुरक्षा व्यवस्था बलियो बनाउने र तस्करी न्यूनीकरण गर्ने उपाय के होला त ?
यसका लागि सही मान्छेलाई सही स्थानमा पठाउन सक्नुपर्छ । कार्यरत कर्मचारी र सुरक्षा निकायलाई सुविधासम्पन्न र अत्याधुनिक प्रविधि उपलब्ध गराउनुपर्छ । यस्तो संवेदनशील स्थानमा मान्छे पठाउने वेलामा राजनीति हाबी हुनु हुँदैन ।