सम्झौता भएको वर्ष दिनमै बन्यो हेलम्बु अस्पताल

आइतबार, १ पुष, २०८०
डिजिटल संस्करण

ठेकेदार र सरकारी कर्मचारीबीचको विवादले विकासका काममा अवरोध हुँदै आएको छ । जसकारण चालू खर्च बढी हुने र विकास खर्च कम हुने गरेको छ । तर, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले ठेक्का सम्झौता गरेको वर्ष दिनमा अस्पताल निर्माण गरेको छ । 

संघीय सरकारको एक पालिका एक अस्पताल स्थापना गर्ने कार्यक्रमअनुरूप हेलम्बुमा १५ शड्ढयाको अस्पताल बनेको हो । १९ करोड ४३ लाख खर्च गरेर अस्पताल बनेको गाउँपालिकाले जनाएको छ । कम्पाउन्डसहित २२ करोडको ठेक्का हो । वर्ष दिनमा ९५ प्रतिशत काम पूरा भएको र माघमा ठेकेदार कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

निमा ग्याल्जेन शेर्पा, अध्यक्ष, हेलम्बु गाउँपालिका
ठेक्का सम्झौता १ मंसिर ०७९ मा गरिएको हो । काम सुरु १ पुसबाट भयो । माघ नसकिँदै सबै काम सम्पन्न हुँदै छ ।

पालिकाको केन्द्र किउलमा ठडिएको हेलम्बु अस्पताललाई सुविधासम्पन्न बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘ठेक्का सम्झौता १ मंसिर ०७९ मा गरिएको हो । काम सुरु १ पुसबाट भयो । माघ नसकिँदै सबै काम सम्पन्न हुँदै छ,’ उनले भने ।

जुगल हिमशृंखला कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको हेलम्बु अस्पताल स्थानीय सरकारको नियमित निगरानीले समयमै सम्पन्न हुने अवस्थामा छ । ठेकेदार कम्पनी र कर्मचारी संयन्त्रबीच विनास्वार्थ काम गर्ने वातावरण र सहमति बनेमा कुनै पनि काम समयमै सकिने अनुभव प्राप्त भएको अध्यक्ष शेर्पाले बताए । मेलम्ची खोलाको बाढीले सडक बन्द हुँदा बर्खामा दुई महिनाजति काम अवरुद्ध भएको थियो । 

हेलम्बु गाउँपालिकाले पाँच वर्षदेखि एम्बुलेन्स सेवा र दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । अरू ११ स्थानीय तहमा पनि काम जारी छ । भोटेकोसी, जुगल, बलेफी गाउँपालिकामा अस्पताल निर्माण धमाधम भइरहेको छ । लिसंखुपाखर र सुनकोसीमा भवन बने पनि स्वास्थ्यकर्मी र उपकरण नभएकाले उपचार सेवा प्रभावकारी छैन । चौतारा साँगाचोकगढी नगरपालिकामा चीन सरकारको सहयोगमा चौतारा अस्पताल निर्माण लगभग सकिएको छ । 

बाह्रबिसे र मेलम्ची नगरमा पुरानै भवनबाट उपचार सेवा प्रदान गरिएको छ । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले घोषणा गरे पनि काम सुरु गरिएको छैन । त्रिपुरासुन्दरी गाउँपालिकाले भवन सुरु हुन सकेको छैन । 

पाँचपोखरी थांपाल गाउँपालिकामा तिपेनीस्थित रहेको स्वास्थ्यचौकीले प्रभावकारी स्वास्थ्य सेवा दिनसकेको छैन । स्थानीय गोपाल स्याङ्बोका अनुसार विकट गाउँहरू भोताङ र बरुवामा स्वास्थ्य सेवा छैन । उनीहरू दिनभर हिँडेर तिपेनी आउनुपर्ने बाध्यता छ । 

सुझावित समाचार