३ प्रश्न

बिहिबार, २८ मंसिर, २०८०
डिजिटल संस्करण

वीर अस्पतालमा पछिल्लो समय देखिएकोे समस्यालाई कसरी लिनुभएको छ ? 
वीरमा जे समस्या देखिएको छ, त्यो समस्या कसले सम्बोधन गर्ने भन्नेबारे स्पष्ट नहुँदा उत्पन्न भएको हो जस्तो लाग्छ । न्याम्सले गर्ने वा वीर अस्पतालकै निर्देशकले सबै नेतृत्व लिने भन्नेबारे स्पष्ट नहुँदा वीरमा बेलाबखत त्रुटि र समस्या आइरहन्छन् । वीरलाई न्याम्सअन्तर्गत राखिएकाले नै न्याम्सका उपकुलपति वा वीरका निर्देशक को बढी जिम्मेवार हुने भन्ने स्पष्ट छैन । तर, बढी जिम्मेवार त न्याम्स नै हुनुपर्ने हो ।

पछिल्लो समय वीरमा देखिएका समस्या न्याम्सलाई सोध्दा वीरको जिम्मेवारी हो भन्ने र वीरलाई सोध्दा न्याम्सको हो भन्ने गरेको पाइन्छ । खास उत्तरदायित्व कसको हो स्पष्ट पार्नुपर्छ । अर्को, वीर वा न्याम्सको प्रमुखलाई अस्पतालमा सकिएका सामानबारे थाहा नहुन पनि सक्छ । त्यहाँको प्रशासन र लेखाका कर्मचारीले सामान सकिनुपहिले नै जानकारी गराइसक्नुपर्छ । अझ नियमअनुसार त कुनै सामान सकिन लाग्यो भने तीन महिनाअघि नै खरिदको प्रक्रिया अघि बढाउनुपर्छ । मौज्दात सकिएपछि किन्नु लापरबाही हो । 

आगामी दिनमा गल्ती र कमी–कमजोरी दोहोरिन नदिन के गर्नुपर्ला ? 
वीरमा अहिले बिरामी टिकट, भर्ना कागजलगायतको अभाव देखिएको विषय नौलो होइन । यहाँ समय–समयमा अनेक समस्या आइपर्छन् । तर, त्यसमा सबैभन्दा बढी गल्ती कसको भन्नेबारे सोच्न जरुरी छ । अस्पतालमा सामान सकिएको निर्देशक र उपकुलपतिलाई थाहा नहुन सक्छ । कुन सामानको अभाव हुँदै छ भन्ने कुरा त स्टोर र खरिद एकाइका कर्मचारीलाई थाहा हुनुपर्छ । उनीहरूले त्यहाँ सामान भए–नभएको पहिले नै जानकारी दिनुपर्छ । तल्लो निकायले माथिल्लो निकायलाई भनेको छ भने माथिल्लोले सम्बोधन गर्नुपर्छ । यस्ता स–साना कुरामा चुक्नु राम्रो हुँदैन । 

अस्पताललाई चाहिने अत्यावश्यक सामग्री मौज्दात नहुनुमा कसको गल्ती होला ? 
यसमा स्टोर, खरिद एकाइ, लेखा तथा प्रशासनको कमी–कमजोरी छ । उनीहरूले सकिन लागेका सामान किन्ने योजना समयमै बनाइसक्नुपर्छ । यदि कुनै समस्या भए मौज्दात नसकिँदै समन्वय वा छलफल गर्नुपर्छ । तर, सकिएपछि मात्रै निर्देशकलाई जानकारी गराउनु उनीहरूको गल्ती हो । अर्को कुरा, हाल वीरमा राजनीतिक उपथलपुथल छ । कर्मचारी जिम्मेवार छैनन् । 

सुझावित समाचार