‘एसियामा शिक्षकको श्रमको सम्मान निराशाजनक’

मंगलबार, २६ मंसिर, २०८०
डिजिटल संस्करण

‘एजुकेसन इन्टरनेसनल, एसिया प्रशान्त क्षेत्र’ले गरेको अध्ययनले यस क्षेत्रका सामुदायिक तथा निजी शिक्षालयका शिक्षकको मानव अधिकार, श्रमिक अधिकार तथा सेवा सुविधाको समग्र अवस्था निराशाजनक रहेको निचोड निकालेको छ।

सो संगठनले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै कतिपय देशमा आन्दोलनका क्रममा शिक्षकहरू हिंसात्मक निशानामा परेको, प्राज्ञिक स्वतन्त्रता नभएको, श्रमिक अधिकारको निर्वाधरुपमा प्रयोग गर्न नपाएको, शिक्षाका नीति र कानुनमा शिक्षक संगठनहरूसँग परामर्श नगरिएकालगायतका समस्या रहेको औँल्याएको छ।

एसिया प्यासिफिकका ३६ मध्ये २४ मुलुकका ३७ उत्तरदाताका जवाफलाई विश्लेषण गरिएको अध्ययनमा यस क्षेत्रका २९.७३ प्रतिशत सामुदायिक र १०.८१ प्रतिशत निजी विद्यालयका शिक्षकहरूलाई जवाफदेहीका रूपमा संलग्न गराइएको थियो।
 
एजुकेसन इन्टरनेसनल विश्वका शिक्षकको साझा संस्था हो । यसका एसिया प्रशान्त क्षेत्रका निर्देशक आनन्द सिंहले गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको पेसागत क्षमता विकास र उनीहरूको नीति निर्माणमा सहभागिता हुनुपर्ने प्रतिवेदनले जोड दिएको बताए।

अनुसन्धानकर्ता फ्य्रांक लियोड टियोङसनले यस क्षेत्रका शिक्षकका लागि रोजगारी ह्रासको चिन्ताको विषय बनेको बताउँदै शिक्षकलाई नागरिक तथा मानव अधिकार एवं राजनीतिक अधिकारबारे क्षमतावृद्धिका साथै अधिकार प्राप्तिका लागि क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा अभियान सञ्चालन गर्न सुझाव दिए।

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)का अध्यक्ष होमकुमार थापाले नेपालका निजी विद्यालयले राजनीतिक र श्रमिक अधिकार नपाएको जनाए। नेपाल शिक्षक संघका वरिष्ठ उपाध्यक्ष इलमबहादुर शाहीले शिक्षकहरूको क्षमतावृद्धिका लागि आफूहरूले स्थानीय तहसँगको सहकार्यमा काम गरिरहेको बताए।

सुझावित समाचार