आर्टमान्डुको म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

आर्टमान्डुको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ।

सांस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डुले यसपटक म्युजिकल फिल्ममार्फत पाँचथरको पञ्चमी बजारको कथा भनेको छ।

‘मैले पहिलोपटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलोपटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलोपटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा हो।  पहिलो हाटबजार भरेको अनुभव यही पञ्चमीको छ,’ भिडिओ सार्वजनिक गर्दै फेसबुक पोस्टमा निर्देशक नवीन चौहानले सम्झिएका छन्।

करिब आठ मिनेटको म्युजिकल फिल्ममा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ। भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन्। दुईबीचको प्रेममार्फत भिडिओमा बजारको सौन्दर्य र पूर्वको स्वाद पस्किएको छ।

‘तिथिमा लाग्ने यो बजारमा भेट भएका कति युवायुवतीको विवाह भएर घरजम नै भएको छ। विडम्बना अहिले यो बजार धेरै उजाडिएको छ,’ नवीन भन्छन्।

गीतमा गायिका अञ्जु पन्त र गायक भूषण खतिवडाले स्वर दिएका छन्। गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भूषणकै कम्पोजिसन छ।

भिडियोमा मिलन खत्री, चन्दा ढुंगाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेतलगायतको अभिनय छ। भिडियोलाई योगेश ढकालले खिचेका छन्। नवीन र  केर कोइँच लिनुचले भिडिओलाई निर्देशन गरेका हुन्।

यसअघि आर्टमान्डुका ‘पाहुना हजुर’, ‘फूलथुंगे रानी’, ‘तीनपाते’, ‘घुमीघुमी’, ‘चन्द्रमा’, ‘के माया लाग्छ र’लगायतका भिडिओ लोकप्रिय छन्। अहिले आर्टमान्डु फिल्म ‘ऊनको स्विटर’ निर्माणको तयारीमा छ।

सुझावित समाचार