तिहारको धार्मिक महत्व के कस्तो रहेको छ ?
तिहार धार्मिकभन्दा पनि सामाजिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण पर्व हो । तर, धनधान्यकी देवी लक्ष्मीको पूजा अर्चना गरिने हुनाले यस पर्वको विशेष धार्मिक महत्व पनि छ । तिहारमा यमराजको सन्देशवाहकका रूपमा शुभ खबर पाइने विश्वासमा कागको पूजा गरिन्छ । घरको रक्षक तथा स्वामीभक्त इमानदार प्राणीका रूपमा कुकुरको पूजा गरिन्छ । लक्ष्मीको प्रतीकका रूपमा गाईको पूजा गरिन्छ भने खेतीपातीमा सघाउने प्राणीका रूपमा गोरुको पूजा गरिन्छ । नेवार समुदायमा आत्मशुद्धिका लागि आफ्नै शरीरको पूजा अर्थात् ‘म्ह पूजा’ गर्ने चलन छ । त्यसैले, तिहारको ठुलो धार्मिक महत्व छ ।
यस पर्वका सामाजिक तथा सांस्कृतिक महत्व के कस्ता छन् ?
दसैँमा टाढा पुगेका आफन्तहरू घर फर्किने र तिहार मनाएपछि काममा फर्किने चलन छ । दसैँमा आफूभन्दा ठुलाबडाकहाँ पुगेर आशीर्वाद लिने गरिन्छ भने तिहारमा चाहिँ कार्यक्षेत्रमा फर्किन बिदाइ गर्दा दिदीबहिनीबाट सुस्वास्थ्य र दीर्घायुको कामना गरिन्छ । साथै, तिहारमा दिदीबहिनीले प्रयोग गरिने सामग्री पनि लामो समयसम्म सुरक्षित रहने खालका हुन्छन् । साथीभाइ मिलेर देउसी, भैलो खेल्ने परम्पराले पनि यसको सामाजिक सांस्कृतिक महत्व उजागर गरेको छ ।
तिहारमा खेलिने जुवातास संस्कृति हो कि चाडका नाममा भित्रिएको विकृति ?
चाडपर्वमा मनोरञ्जनका लागि विभिन्न गतिविधि गरिन्छन् । तिहारमा पनि मनोरञ्जनका लागि देउसीभैलो खेल्ने चलन छ । पिङ खेलेर रमाउने चलन पनि छ । परिवारका सदस्य र साथीभाइहरू मिलेर ठुलो हारजित नहुनेगरी रमाइलोका लागि जुवातास खेल्ने पनि परम्परा छ । तर, अहिले चाडबाडका नाममा लाखौँको हारजित हुनेगरी खेलिने जुवातास चाहिँ विकृति हो ।