तथ्यांक कार्यालयका नौसहित १० कर्मचारी एकैपटक अमेरिका

शुक्रबार, २४ कार्तिक, २०८०
डिजिटल संस्करण

तथ्यांकसम्बन्धी नयाँ प्रविधि सिक्न भन्दै राष्ट्रिय तथ्यांक कार्यालयका नौसहित १० कर्मचारी अमेरिका गएका छन् । कार्यालयले गरिरहेको जीवनस्तर सर्वेक्षणका लागि नयाँ प्रविधि सिक्न भन्दै उनीहरू अमेरिका गएका हुन् । गत सोमबार उनीहरू अमेरिका गएका छन् । प्रमुख तथ्यांक अधिकारी तोयम राया भने आगामी सोमबार मात्र जाँदै छन् । 

विश्व बैंकको आयोजना र उसकै खर्चमा कर्मचारीहरू अमेरिका गएका हुन् । भ्रमण २० कात्तिकदेखि १ मंसिरसम्म १२ दिन चल्नेछ । तर, सचिव रायाको भने पाँच दिन मात्र छ । भ्रमणमा तथ्यांकसँग असम्बन्धित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद्, बैठक तथा संवैधानिक निकाय महाशाखाका सहसचिव हीरामणि शर्मा पनि सहभागी छन् । प्रधानमन्त्री कार्यालयको सहभागिताका रूपमा उनलाई भ्रमणमा मनोनयन गरिएको हो । 

भ्रमणमा सहभागी हुनेमा राया र शर्मासहित कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी, उपसचिव विश्वरूप दाहाल, निर्देशकद्वय तीर्थराज चौलागाईं र देवेन्द्रराज कारञ्जित, तथ्यांक अधिकृतत्रय पृथ्वीविजयराज सिँजापति, किशोर बिसी र अन्नराज तिवारी तथा कम्प्युटर अधिकृत डा. पुष्पराज पौडेल छन् । 

तोयम राया, प्रमुख तथ्यांक अधिकारी

केही समयदेखि कार्यालयले जीवनस्तर सर्वेक्षणको काम गरिरहेको छ । यसको मुख्य उद्देश्य नेपालमा गरिबी अनुमान र जीवनस्तरमा आएको परिवर्तनको अनुमान गर्ने हो । यो गरिबी अनुमानका लागि विश्व बैंकले विकास गरेको सर्वेक्षण हो । विश्व बैंकको प्राविधिक सहायतामा कार्यालयले सर्वेक्षणको काम गरिरहेको छ । यसैक्रममा बैंकले आयोजना गरेको ‘ट्रेनिङ अन पोभर्टी मिजरमेन्ट एन्ड फरेस्ट स्ट्याटिक्स एन्ड नलेज एक्सचेन्ज’ शीर्षकको कार्यक्रमका लागि कर्मचारी अमेरिका लागेका हुन् । 

यसअघि ७–१७ साउनमा भएको सर्वेक्षणसम्बन्धी कार्यक्रममा कार्यालयका नौ कर्मचारी थाइल्यान्डको बैंकक गएर आएका थिए । त्यतिखेर थाइल्यान्ड गएका निर्देशकद्वय चौलागाईं र कारञ्जित, तथ्यांक अधिकृतत्रय सिँजापति, बिसी र तिवारी तथा कम्प्युटर अधिकृत पौडेल यसपटक अमेरिका गएका छन् । उनीहरू ‘ट्रेनिङ अन पोभर्टी मिजरमेन्ट युजिङ डाटा फ्रम दी अनगोइङ फोर्थ नेपाल लिभिङ स्ट्यान्डर्ड सर्भे’ शीर्षकको कार्यक्रमका लागि थाइल्यान्ड गएका थिए । कम कर्मचारी गए पनि हुने उस्तै कार्यक्रममा दोहोर्‍याएर, असम्बन्धित र ठूलो संख्याका कर्मचारी पनि दाताको सहयोगमा एकैपटक अमेरिका गएका हुन् । 

कार्यालयका प्रमुख तथ्यांक अधिकारी राया भने जीवनस्तर सर्वेक्षणका लागि नयाँ प्रविधि सिक्न अमेरिका गएको बताउँछन् । ‘जीवनस्तर सर्वेक्षणका लागि नयाँ प्रविधि सिक्न आवश्यक भएर सरकारले निर्णय गरेर पठाएको हो,’ उनले नयाँ पत्रिकासँग भने, ‘यसमा काम गरिरहेकाहरूले प्रविधि सिक्नुपर्ने भएकाले विश्व बैंकको आयोजनामा भ्रमण भएको हो ।’ 

कार्यालयले १४ वर्षपछि यस्तो नेपाल जीवनस्तर सर्वेक्षण गर्न लागेको छ । यसअघि ०६६/६७ मा यस्तो सर्वेक्षण भएको थियो । नेपालमा पहिलोपटक सन् ०५२/५३ मा सर्वेक्षण भएको थियो । अहिले गरिन लागेको चौथो सर्वेक्षण हो । पछिल्लो सर्वेक्षणअनुसार नेपालमा करिब २५.१६ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । यसले जीवनस्तरका विभिन्न आयाममा तथ्यांकीय विश्लेषण गरेको छ । जारी सर्वेक्षणले यससम्बन्धी नयाँ तथ्यांक दिनेछ । 

सुझावित समाचार