अबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले २०८० सालको षडानन्द राष्ट्रिय पुरस्कार पूर्वीय दर्शनका विशिष्ट विद्वान्, तन्त्र र योगका चिन्तक, व्याख्याता एवं साधक प्राध्यापक विद्यानाथ उपाध्यायलाई प्रदान गर्ने निर्णय गरेको छ।
नव्यन्याय विषयमा आचार्य गरेका प्राध्यापक उपाध्यायले लामो समय सो विषयका प्राध्यापकका रूपमा काम गरेका छन्। संस्कृत अध्ययन संस्थानका सहायक डिन तथा तत्कालीन महेन्द्र संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष भई पूर्वीय दर्शनको उन्नयनमा उनले पु¥याएको योगदानको कदर गर्दै षडानन्द पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका सचिव प्रा.डा. बद्रीविशाल भट्टराईले जानकारी दिए।
भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, समाजसुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारीको स्मृतिमा स्थापना गरिएको सो पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको सचिव भट्टराईले बताए।
यसैगरी तत्कालीन पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष नेपाली आख्यानका क्षेत्रमा विशेष योगदान पु¥याउने साहित्यकार परशु प्रदानलाई प्रदान गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ। दिङ्लाका डण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा पुत्रद्वय निरञ्जन र गायत्रीकुमारद्वारा स्थापित अक्षयकोषको ब्याजबाट प्रदान गरिने उक्त पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको प्रतिष्ठानका सचिव भट्टराईले बताए।
विगत ६ दशकदेखि अनवरत रूपमा कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह र बाल साहित्यसम्बन्धी दर्जनौैँ कृति प्रकाशित गरी नेपाली साहित्यमा विशिष्ट योगदान दिएका कारण प्रधानलाई उक्त पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । बाल ब्रह्मचारी षडानन्दको १८९औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सचिव भट्टराईले जानकारी दिए ।