तपाईंलाई राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको भ्रमण नेपालका लागि कत्तिको फलदायी भयो भन्ने लाग्छ ?
एउटा त, डाग ह्यार्मक्सजोल्डदेखि अहिलेसम्मका महासचिवबाट नेपालको भ्रमण हुँदै आएकाले परम्पराको निरन्तरता कायम भएको छ । अर्काे महत्वपूर्ण कुरा, गुटेरेसको भ्रमणले विश्वमा नेपालबाट जलवायु परिवर्तनबारे तात्कालिकताको सन्देश गएको छ । जलवायुका भयावह असरलाई उजागर गरिदिएर महासचिवले विश्वको ध्यानाकर्षण गराउनुभएको छ । अब हाम्रो प्रयास यो मुद्दालाई अगाडि बढाउने हुनुपर्छ ।
संक्रमणकालीन न्याय टुंग्याउन महासचिव गुटेरेसको भ्रमणले झकझक्याउने काम गरेको छ, के अब टुंगिएला ?
युएनले सद्भावसम्म राख्न त सक्ला, तर टुंग्याउने काम हाम्रा नेताहरूकै हो । र, उनीहरूले नै जतिसक्दो छिटो निष्कर्षमा पुर्याउनुपर्छ । सर्वाेच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड र पीडितकेन्द्रित बनाउँदा मात्रै संक्रमणकालीन न्याय निष्कर्षमा पुग्छ भनेर गुटेरेसले स्पष्ट शब्दमा भनिसक्नुभएको छ । नेताहरूले यसको गाम्भीर्य बुझेर जतिसक्दो चाँडो टुंग्याउँछन्, त्यति नै देश र जनताको हितमा हुन्छ । यो निकै जटिल विषय हो । यो कुनै पनि समय शक्तिराष्ट्रहरूबाट भूराजनीतिक कार्डका रूपमा प्रयोग नहोला भन्न सकिन्न । यदि देशलाई चलखेलबाट बचाउने हो भने संक्रमणकालीन न्यायलाई टुंग्याइहाल्नुपर्छ ।
गुटेरेस भ्रमणको लाभ लिन नेपालले के गर्नुपर्छ ?
महासचिवले लुम्बिनी पुगेर राष्ट्रसंघको बडापत्रमा अन्तरनिहित सिद्धान्त बुद्धको सन्देश, पञ्चशीलको सिद्धान्तबाट प्रेरित रहेको भनेर विश्वशान्तिको जुन सन्देश दिनुभएको छ, त्यो निकै महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रभावकारी प्रचार भएको छ । युएनका महासचिव उ थान्तको भ्रमणपछि युएनमा ‘इन्टरनेसनल कमिटी फर दि डिभलपमेन्ट अफ लुम्बिनी’ भन्ने एउटा कमिटी नै बनेको छ । त्यसलाई पुनर्जीवित गराउन सकियो भने लुम्बिनीको विकासमा धेरै काम गर्न सकिन्छ ।