जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेको संस्था ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषयलाई कोप–२८ मा उठाइदिन आग्रह गरेकी छिन्।
चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेस सोमबार जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे बुझ्न सोलुखुम्बुको स्याङ्बोचे पुगेका छन्। उनी त्यस क्षेत्रबाट फर्किएपछि अन्नपूर्ण आधार क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ।
यही अवसरमा ‘साथसाथै’का अध्यक्ष कार्कीले एक भिडियोमार्फत महासचिव गुटेरसलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा महिला, बालबालिका, अपांगता भएका तथा पिछडिएको समुदाय सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेकी छिन्।
‘साथसाथै’ले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘जलवायु न्यायका लागि महिला एकता’ भन्ने नारासहित यही क्षेत्रमा पदयात्रा गर्ने गरेको छ।
कार्कीले भिडियोमार्फत भनेकी छिन्, ‘जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेको संस्थाको अध्यक्षको हैसियतमा हामी नेपाललाई जलवायु परिवर्तनको असमान प्रभावका बारेमा सम्पूर्ण राष्ट्रसंघ परिवार र तपाईंहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ। तपाईंको स्याङ्बोचे भ्रमणले नेपालमा जलवायुले पारेको असरलाई आफ्नै आँखाले देख्नुहुनेछ। नेपालको भोगेको चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्च कोप–२८ मा उठाइदिन आग्रह गर्दछौँ।’