आज कांग्रेसको चियापान : लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण

शनिबार, ११ कार्तिक, २०८०
डिजिटल संस्करण

आज दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम

कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज  दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्नेछन्।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रीगण, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ।

बिपी २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले २०३४ देखि चियापान सुरु गरेको हो। विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएका थिए।

त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका छन्। कांग्रेसले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।     

सुझावित समाचार