चार हजार मेगावाट विद्युत् आदान-प्रदान हुन सक्ने इनरुवा सबस्टेसन तयार

मंगलबार, ३० असोज, २०८०
डिजिटल संस्करण

मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ।

मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआइएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो। इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ।

हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मरहरू छन्। 

जसको क्षमता ९४५ एमभिए छ  इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान–प्रदान हुन सक्नेछ। इनरुवा–ढल्केबर प्रसारणलाइनको अहिले तार तान्ने काम भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, स्थानीय रूपमा खपत गर्न र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारततर्फ निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डको रूपमा रहेको बताए। 

‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा  बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारणलाइन प्रस्ताव गरिएको छ,’ कार्यकारी निर्देशक घिसिङले भने। 

सबस्टेसनलाई महत्वपूर्ण मानिएको छ। अरुण तथा तमोर नदी र तिनीहरूका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् कोशी  करिडोर २२० केभी प्रसारणलाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिनेछ। 

कोशी करिडोरको इनरुवा–वसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ। यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारणलाइन आयोजना पनि निर्माणाधीन छ। अरुण हब–इनरुवा ४०० केभी प्रसारणलाइन निर्माण प्रस्ताव गरिएको छ।

आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्ने गरी निर्माण गरिएको बताए। 

सुझावित समाचार