चारित्रिक प्रमाणपत्रसम्बन्धी नयाँ निर्देशिकामा प्रहरीको असन्तुष्टि

आइतबार, २८ असोज, २०८०
डिजिटल संस्करण

कार्यान्वयन नहुँदै संशोधन गर्न सुझाव 

गम्भीर प्रकृतिका अपराधमा संलग्नले पनि असल प्रहरी चारित्रिक प्रमाणपत्र पाउने देखिएपछि ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८०’ विवादमा परेको छ । प्रहरीले यसलाई कार्यान्वयनमा नलगी संशोधनका लागि गृह मन्त्रालयसँग आग्रह गरेको छ । 

निर्देशिकाको दफा ९ (ख)मा ‘कुनै फौजदारी अभियोग लागी सुरु तहको अदालत वा अर्धन्यायिक निकायमा मुद्दा विचाराधीन’ रहेकाले कसुर उल्लेख नगरी प्रमाणपत्र पाउने प्रावधान छ । यस्तो व्यवस्थाले गम्भीर प्रकृतिका अपराधमा संलग्नहरूले पनि पुलिस प्रमाणपत्र पाउने भएपछि त्यसलाई संशोधनका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई आग्रह गरेको हो । 

निर्देशिकाका कतिपय प्रावधानले असर पर्ने देखिएपछि संशोधन गरेर मात्र कार्यान्वयन गरिनेबारे छलफल भइरहेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । यस्तो प्रावधान हटाएर मात्र निर्देशिका कार्यान्वयन गर्न प्रहरीको सुझाव छ । 

सामान्य प्रकृतिका अपराधमा संलग्नहरूले पनि प्रहरी रिपोर्ट नपाउँदा अवसरबाट वञ्चित भएको गुनासाको आधारमा गृह मन्त्रालयले केही उदारता देखाएर निर्देशिका संशोधन गरेको थियो । तर, केही प्रावधानले अपराधलाई नै प्रोत्साहन गर्ने भएपछि प्रहरीले संशोधनका लागि पहल गरेको हो । 

गत १ असोजमा राजपत्रमा प्रकाशित निर्देशिकामा एक वर्षसम्म कैद सजाय भएकाले पनि अपराध उल्लेख नगरी प्रमाणपत्र पाउने प्रावधान छ । ‘अदालत वा कुनै अर्धन्यायिक निकायबाट सुरु कारबाही र किनारा हुने फौजदारी मुद्दामा एक वर्ष वा सोभन्दा कम सजाय भई भुक्तान भएको’ व्यक्तिलाई कसुर उल्लेख नगरी प्रहरी चारित्रिक प्रमाणपत्र पाउने प्रावधान निर्देशिकामा छ । 

त्यस्तै, सरकारी कार्य सम्पादनको क्रममा कुनै कसुरमा सजाय पाई सेवामै रहेको व्यक्ति, जरिवाना मात्र भएको त्यो असुल भइसकेको व्यक्तिले पनि प्रहरी रिपोर्ट पाउनेछन् । सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६१(३) बमोजिमको कसुरमा सजाय भएको व्यक्तिले पनि प्रमाणपत्र पाउनेछन् । 

सवारी दुर्घटनामा कसैको ज्यान गएको, तर चालकको लापरबाही नदेखिएको अवस्थामा एक वर्षसम्म कैद सजाय हुने प्रावधान सो दफामा छ । यस्तो मुद्दामा दोषी ठहर भए पनि प्रहरीको प्रमाणपत्र पाउने भएका छन् । 

त्यस्तै, सरकारले मुद्दा फिर्ता लिएको तथा अदालतबाट सफाइ पाई माथिल्लो अदालतमा विचाराधीन रहेकाले पनि चारित्रिक प्रमाणपत्र कसुर उल्लेख नगरी पाउने भएका छन् । नयाँ निर्देशिकामा अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने व्यवस्था उल्लेख छ । 

See More On

सुझावित समाचार