एसियाली राजनीतिक दलहरू (आइक्याप)को अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ । आइक्यापको ४०औँ स्थायी कमिटी तथा एसिया युरोप पोलिटिकल फोरमको पाँचौँ बैठक शुक्रबारबाट काठमाडौंमा सुरु हुने भएको छ ।
कार्यक्रममा दुई महादेशका साझा भविष्यका निम्ति एसिया र युरोपका राजनीतिक दलका नेता तथा विज्ञहरूका बीचमा विभिन्न समसामयिक विषयमा प्रस्तुति तथा छलफल हुने जनाएको छ । बैठकमा चीन, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, पाकिस्तान, लेबनान, चेक गणतन्त्र, नेदरल्यान्डलगायत विभिन्न मुलुकका २६ वटा राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू गरी ५० भन्दा बढी सहभागी हुनेछन् ।
२८ असोजसम्म हुने सम्मेलनको उद्घाटन सत्रलाई शनिबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले विदेश विभागका प्रमुख डाक्टर राजन भट्टराईले बताए । आयोजक कमिटी आइक्यापको स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले बैठकको सम्पूर्ण तयारी पूरा भएको बताए । उनका अनुसार बैठकमा सहभागिताका लागि विभिन्न देशबाट पाहुनाहरू आउने क्रम सुरु भएको छ ।