सुदूरपश्चिम एमाले नेतृत्वका उम्मेदवारको नामावली प्रकाशित

मंगलबार, २३ असोज, २०८०
डिजिटल संस्करण

नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशित गरिएको छ। निर्वाचन कमिटीले केहीबेरअघि उम्मेदवारको नामावली प्रकाशित गरेको हो।

प्रदेश अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन्। अछामका कमल तिमिल्सिना, कृष्णप्रसाद जैसी र अछामकै भरत साउद र कञ्चनपुरका वचनबहादुर सिंहले उम्मेदवारी दिएका छन्। यसअघि तिमिल्सिना, जैसी र सिंहले मात्र अध्यक्षमा दाबी गरेका थिए। 

तिमिल्सिना निवर्तमान प्रदेश कमिटीका उपाध्यक्ष हुन्। त्यस्तै जैसी पूर्वजिविस सभापति, साउद पूर्वजिल्ला अध्यक्ष र सिंह युवा संघ नेपालका पूर्वकेन्द्रीय अध्यक्ष हुन्।

नयाँ कार्यसमिति चयनका लागि आजै निर्वाचन हुने निर्वाचन कमिटीले जनाएको छ। एकजना उपाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी, रणबहादुर महरा र गजेन्द्र शाहीबीच उपाध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, सचिवका लागि रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी र जीवनकुमार बमबीच प्रतिस्पर्धा हुँदै छ। उपसचिव (महिला) भागरथी विष्ट तिमिल्सिना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन्। एकजना उपसचिव (खुला)का लागि अशोककुमार चन्द, नरबहादुर बिक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट, सुरेन्द्रबहादुर पाल र आनन्दलाल विश्वकर्माले उम्मेदवारी दिएका छन्।

सुझावित समाचार