सूर्यदर्शन बचत तथा ऋण सहकारीमा बचतकर्ताको रकम हिनामिना गरी भएको ठगी प्रकरण अदालत पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालत कास्कीमा सहकारी ऐन, २०७४ अन्तर्गत सञ्चालकविरुद्ध मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालयले बचतकर्ताको उजुरीसँगै अन्य अध्ययन गरेर तयार गरेको प्रतिवेदन १६ असोजमा सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा बिहीबार अदालतमा मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता गोपालप्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार ठगी प्रकरणमा जोडिएका १९ जनालाई प्रतिवादी बनाइएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु राई, उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध मुद्दा दर्ता गरिएको छ । पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल र आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङविरुद्ध मुद्दा दर्ता भएको हो । भदौको पहिलो सातादेखि नै सहकारीको सबै कारोबार प्रायः ठप्प छ ।
सहकारी ठगी प्रकरणका सम्बन्धमा पोखरा महानगरपालिकाबाट आवश्यक कारबाहीका लागि ३ साउनमा पत्र प्राप्त भएपछि कास्की प्रहरीले २२ साउनमा मुद्दा दर्ता गरेको थियो । प्रहरीले ३२ साउनमा सूचना जारी गर्दै १५ भदौसम्मको समय दिएर बचतकर्तासँग उजुरी माग गरेको थियो । महानगरपालिकाले १० भदौमा विज्ञसहितको टोलीसमेत गठन गरेको थियो ।
कास्कीका प्रहरी प्रमुख मोहनबहादुर थापाका अनुसार प्रहरीले गरेको उजुरी मागपछि एक हजार ३६ बचतकर्ताले जाहेरी दिएका थिए । प्रहरीलाई दिएको जाहेरीमा खुलेको बिगो रकम एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ भए पनि महानगरले बनाएको विज्ञको प्रतिवेदनअनुसार ठगिएको रकम एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ रहेको थापाले बताए । त्यसपछि प्रहरीले २४ भदौ र २ असोजमा गरी सहकारी ठगी प्रकरणमा जोडिएका १९ जना प्रतिवादीविरुद्ध अदालतको अनुमतिमा पक्राउ पुर्जी जारी गरेकोमा कोषाध्यक्ष कुमार रम्तेल मात्र पक्राउ परेका छन् । पूर्वअध्यक्ष गितेन्द्रको पालामा २१ करोड २४ लाख र उनका दाजु भूपेन्द्र अध्यक्ष हुँदा ८० करोड ७० लाख र वर्तमान अध्यक्ष थानबहादुर बुढाको पालामा २७ करोड हिनामिना भएको देखिएको छ ।
न्यायाधिवक्ता ढकालका अनुसार मुद्दा दर्ता गरिएका १९ जना प्रतिवादीबाट एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रुपैयाँ बिगो दाबीका साथै आठदेखि १० वर्ष कैद सजाए माग गरिएको छ । एक अर्बभन्दा बढी जतिसुकै बिगो भए पनि आठदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।