चपरतला गाउँमा हात्तीको बथानले तीन घर भत्कायो

बुधबार, १७ असोज, २०८०
डिजिटल संस्करण

कञ्चनपुरको उत्तरी चपरतला गाउँमा जंगली हात्तीकाे बथानले तीन घर भत्काइदिएको छ । गएराति हात्तीको बथानले कृष्णपुर नगरपालिका– ४ स्थित चपरतलाका तीन घर भत्काइदिएको हो । 

कृष्णपुर नगरपालिका– ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले जंगली हात्तीले गाउँ पसेर घर तथा अन्नबालीमा क्षति गरेको बताए । वडाध्यक्ष सिंहका अनुसार श्यानु चौधरी, गोपाल चौधरी र जयराज चौधरीको घर भत्काइदिएको छ । हात्तीले बस्ने घरै भत्काइदिएपछि चौधरीत्रय परिवार बिचल्लीमा परेका छन् । 

उनीहरू सोही घरमा बस्दा पुनः हात्ती आउने त्रास र नयाँ बनाउन रकम नहुँदा समस्यामा परेका छन् । उक्त गाउँका १५ स्थानीयको झन्डै साढे तीन–चार बिघाको धानबाली नष्ट गरिएको छ । पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरिदिएपछि किसान मर्कामा परेका छन् । 

 ‘गाउँमा हात्ती आएपछि स्थानीय घर छाडेर भागेका रहेछन्,’ वडाध्यक्ष सिंहले भने, ‘घर छाडेर भाग्दा ज्यान जोगाए, तर घर भने हात्तीले भत्काइदिएछ ।’ वडाध्यक्ष सिंहले हात्तीबाट पीडितलाई राहत एवं आवश्यक सहयोगका लागि क्षतिको यकिन विवरण संकलन भइरहेको बताए । जंगली हात्तीले कञ्चनपुरमा धानबालीदेखि भौतिक तथा मानवीय क्षति पुर्याउँदै आएपछि स्थानीय त्रसित भएका छन् । 

See More On

सुझावित समाचार