सिराहामा मिटरब्याजसम्बन्धी दुई सय ३३ उजुरी फर्स्याेट

बुधबार, १० असोज, २०८०
डिजिटल संस्करण
सिराहामा मिटरब्याजसम्बन्धी दुई सय ३३ उजुरी फर्स्याेट

फाइल तस्बिर

सिराहामा अनुचित लेनदेन (मिटरब्याज)को उजुरी फर्स्याेट सुस्त रूपमा भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिराहामा दर्ता भएका तीन हजार सात सय ८८ उजुरीमध्ये दुई सय ३३ फर्स्याेट भएका हुन्। 

छलफल प्रक्रियामार्फत असोज ९ गतेसम्म दुई सय ३३ वटा उजुरी मात्र फर्स्याेट भएका जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ। फर्स्याेटको दर ६.१५ प्रतिशत छ। दर्ता भएको उजुरीमध्ये १४.६६ प्रतिशत उजुरीमा मात्र छलफल भएको छ। दर्ता भएको कुल उजुरीमध्ये सात सय ५५ वटामा छलफल भएको छ।

सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले दुई सय ३३ वटा उजुरी फर्स्याेट हुँदा सात करोड २३ लाख १० हजार नाै सय ६४ रुपैयाँबराबरको सहमति भएको बताएका छन्। १२ बिघा १८ कट्ठा नाै धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ पाण्डेले बताएका  छन्।

दर्ता भएको उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गाजमिनसम्बन्धी रहेकाे भन्दै प्रजिअ पाण्डेले कसैकसैले थोरै रकम दिएर बढीको कपाली तमसुक बनाएको, दोब्बर–तेब्बरसम्मको धितोबापत जग्गाजमिन राख्नुपरेको अहिलेसम्मको छानबिनबाट खुलेको प्रजिअ पाण्डेले बताएका छन्।

उजुरीको छानबिनका क्रममा दुवै पक्षबाहेक कपाली तमसुक लेख्ने लेखापढी कानुन व्यवसायी वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलगायतलाई कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गरिएको प्रजिअ पाण्डेले बताएका छन् । केही ढिलाइ भए पनि कार्यालयको कामसँगै कर्मचारी अभावले तीव्रता दिन अप्ठ्यारो भइरहेको प्रजिअ पाण्डेको भनाइ छ।

यता मिटरब्याजपीडित संघर्ष समितिका संयोजक मनोज पासमानले उजुरी फर्स्याेट दर निकै न्यून रहेकाले त्यसलाई तीव्रता दिनुपर्ने बताएका छन्। यसरी फर्स्याेट हुँदा लम्बिएर वर्षौँ लाग्ने र पीडितले न्याय पाउन ढिलाइ हुने संयोजक पासमानकाे दाबी छ।

सुझावित समाचार