लमजुङ अस्पतालमा कार्यरत डाक्टर सन्दीप अधिकारीलाई वडाध्यक्षले कुटपिट गरेका छन् । बेँसीसहर नगरपालिका– ७ का वडाध्यक्ष ऋषि बस्नेतले अधिकारीलाई कुटपिट गरेका हुन् । आइतबार राति साढे १० बजेको समयमा अस्पतालको वार्डस्थित नर्सिङ स्टेसनमा खटिएका डाक्टर सन्दीप अधिकारीमाथि उनले हातपात गरेको पीडित अधिकारीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ । आमाको उपचारका लागि अस्पताल पुगेका वडाध्यक्ष बस्नेत र डाक्टरबीच भर्नाको विषयमा सामान्य विवाद हुँदा उनले डाक्टर अधिकारीमाथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।
बिरामी भर्नाका विषयमा विवाद हुँदा डाक्टरमाथि हातपात भएको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर थानेश्वर चापागाईंले बताए । उनका अनुसार प्रहरीमा परेको जाहेरीको आधारमा वडाध्यक्ष बस्नेतलाई सोमबार साँझ लमजुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा लिइएको छ । वडाध्यक्ष बस्नेतले मापसे गरेकै कारण ड्युटीमा खटिएका डाक्टर अधिकारीमाथि हातपात गरेको अस्पतालका डाक्टरहरू बताउँछन् । चिकित्सकमाथि हातपात गरेको आरोपमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनविरुद्धको कसुरमा प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरीमा दिएको जाहेरीमा अस्पतालका डाक्टर अधिकारीसहित नर्सहरू विष्णु गुरुङ, पूजा श्रेष्ठ, स्मृति चिलुवाल, प्यारामेडिक्स पार्वती श्रेष्ठ र देवी विक, ल्याब टेक्नेसियन कुमारबाबु तिवारी, कार्यालय सहयोगी भीमबहादुर गुरुङ र निर्मला थापाले हस्ताक्षर गरेका छन् । जाहेरीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा सुरक्षा ऐनविपरीत कसुर गरेको भन्दै बस्नेतलाई कारबाही गर्न र स्वास्थ्यकर्मीको जिउधनको सुरक्षा दिन माग गरेका छन् ।
लमजुङ अस्पतालका अध्यक्ष हरिजंग तामाङले वडाध्यक्ष बस्नेतले यसअघि पनि अस्पतालमा तोडफोडका साथै धाकधम्की दिने गरेको बताए । उनले बाहिर आएको घटना पहिलो भए पनि यसअघि पनि बस्नेतले अस्पतालमा आएर होहल्ला गर्ने स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेकाे बताए । ड्युटीमा रहेका डाक्टरमाथि हातपात भएको भन्दै सोमबार दिउँसो केही समय आकस्मिकबाहेकका सेवा बन्दसमेत भएको थियो । अस्पताल व्यवस्थापन समितिले प्रेस विज्ञप्ति जारी गरी बिरामीको उपचारमा रहेका डाक्टरलाई कुट्ने घटना अत्यन्तै निन्दनीय भएको बताएको छ ।