प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारलाई रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। दिगो विकास लक्ष्य, योजना आयोगको प्रतिवेदन राष्ट्रिय युवा नीति र सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने कुरामा सरकार सम्पूर्ण रूपले प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ छ।
‘विदेशमा रहेका लाखौँ नेपाली युवाहरूको भविष्यबारे नसोचीकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितको रक्षा हुन सक्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान कायम हुन्छ र कसरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, सरकार त्यो दिशामा गम्भीरतापूर्वक लागेको छ,’ उनले भने।
प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको बताए। न्युयोर्कमा आफूले अति कम विकसित देशको मुद्दा र समस्याका साथै जलवायु परिवर्तनबाट नेपालजस्ता देशलाई परेको असरका बारेमा सम्बोधन गर्ने उनको भनाइ थियो।