राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनका विषयवस्तु के ?

शनिबार, ३० भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्ड न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभाको सत्रमा भाग लिन आज त्यसतर्फ जाँदै छन् । सभामा प्रधानमन्त्री प्रचण्डले नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा भएका प्रयासबारे सम्बोधन गर्न लागेको जानकारी गराएका छन् । 

यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी आएको उनले बताए ।

‘नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने,’ प्रधानमन्त्रीले भने, ‘अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्यराष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरूलगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।’ 

उनले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीलगायतका विषयमा साइडलाइन वार्ता गर्ने कार्यक्रम छ । भ्रमणका लागि सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको पनि प्रधानमन्त्रीले जानकारी दिए । 

See More On

सुझावित समाचार