प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सदभावमा खलबल पार्ने अभिव्यक्ति र कार्यलाई कुनै हालतमा छुट नदिने बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सदभावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने प्रस्ट पारेका हुन्। एक–अर्काको धर्म र संस्कृतिविरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने उनले बताए।
‘नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ। अतः परापूर्वकालदेखि यहाँ कायम रहिआएको सामाजिक एकता, सदभाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ छ,’ उनले भने, ‘सामाजिक सदभावमा खलबल पार्ने वा एक–अर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन।’