प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानवासी र सिंगो देशका जनसमुदायसँग अपिल गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको भन्दै सामाजिक एकता र सद्भावको पक्षमा उभिन अपिल गरेका हुन्।
‘केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ। हरेक समस्या, विमति र चुनौतीहरूलाई संवाद, सहमति र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ,’ प्रधानमन्त्रीले अपिलमा भनेका छन्, ‘तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपिल गर्दछु।’
उनले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसा तगर्दै अगाडि बढिरहेको मुलुक भएको बताएका छन्।
‘नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो। विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ। विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ,’ उनले भनेका छन्।
संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको भन्दै प्रधानमन्त्रीले कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरेको उल्लेख गरेका छन्।
‘धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ। एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ। त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु,’ उनले भनेका छन्, ‘विभिन्न वर्ण, लिंग, जातजाति र धर्मको पहिचान भए पनि समग्रमा हामी नेपाली हौँ। नेपालको राष्ट्रिय हित र स्वार्थ नै हामी सबैका लागि सर्वोपरि रहन्छ र रहनुपर्दछ।’
सबै धर्मको ध्येय राष्ट्रको हित, नागरिकको आस्था र विचारको सम्मान एवं समाजको सर्वोपरि हित नै रहेको प्रधानमन्त्रीले स्पष्ट पारेका छन्। विमतिहरूलाई संवादको माध्यमबाट समाधानमा पुर्याउनसमेत राजनीतिक शक्तिहरू, विभिन्न सामाजिक संस्थाहरू, धार्मिक समुदाय र त्यसका अगुवाहरू एवं नागरिक समाजको भूमिका नै महत्वपूर्ण रहने प्रधानमन्त्रीको भनाइ छ।
‘कठिनाइ र चुनौतीको समयमा समस्या समाधानको सुत्रधार बनेर नै हामीले आफ्नो नेतृत्व क्षमता र औचित्यलाई पुष्टि गर्न सक्छौँ। सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानवासी जनसमुदायलगायत सम्पूर्ण नेपालीमा हार्दिक अपिल गर्दछु,’ प्रधानमन्त्रीले अपिल गरेका छन्।
