बागमतीमा फेरि टुक्र्याइयो मन्त्रालय

मन्त्रालयको संख्या ११ बाट १२ पुर्‍याई ७७ दिनदेखि विनाविभागीय रहेका मन्त्री रामकृष्ण चित्रकारलाई जिम्मेवारी दिने तयारी

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

सत्तागठबन्धनभित्रको भागबन्डा मिलाउन बागमती सरकारले मन्त्रालय टुक्र्याएको छ । अहिले ११ वटा मन्त्रालय रहेकोमा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय फुटाएर उद्योग तथा सामान्य प्रशासन मन्त्रालय थपिएको छ । सो मन्त्रालयमा लामो समयदेखि विनाविभागीयमन्त्री रहेका रामकृष्ण चित्रकारलाई नियुक्त गर्ने तयारी छ ।

चित्रकार ७७ दिनदेखि जिम्मेवारीविहीन छन् । माओवादीको केन्द्रीय बैठकका लागि काठमाडौंमा रहेका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रदेश राजधानी हेटौँडा फर्किएलगत्तै चित्रकारले जिम्मेवारी पाउनेछन् । प्रदेश सभा निर्वाचनपछि एमालेसँगको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले प्रदेशको खर्च कटौती गर्ने भन्दै मन्त्रालयको संख्या घटाउने पहिलो निर्णय गरेका थिए । सोही निर्णयअनुसार मन्त्रालयको संख्या घटाएर ११ बनाइएको थियो । तर, सत्तासमीकरण बदलिएको पाँच महिनापछि मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालय टुक्र्याई १२ पुर्याएका छन् । 

गत १३ फागुनमा तत्कालीन सत्तासाझेदार दलहरू एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि कांग्रेस र एकीकृत समाजवादी सरकारमा प्रवेश गरेका थिए । २६ चैत र ७ जेठमा विस्तार गर्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको थिएन । मुख्यमन्त्री जम्कट्टेलले लामो सयमसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएपछि बाध्य भएर मन्त्रालय बढाएको प्रतिक्रिया दिए । कांग्रेस प्रदेश संसदीय दलका उपनेता चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाएका थिएनन् ।

कांग्रेसले माओवादीको भागमा रहेको भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी मन्त्री चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग गर्दै आएको थियो । माओवादीले भने भौतिक पूर्वाधार मन्त्रालय विभाजन गर्न अस्वीकार गर्दै आएको थियो । अन्ततः कांग्रेसकै भागमा रहेको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय टुक्र्याई चित्रकारलाई उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको हो । अब प्रदेशमा कांग्रेसका ६, माओवादीको मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीका दुई गरी १२ मन्त्री भएका छन् ।

See More On

सुझावित समाचार