वाणिज्य बैंकहरूको खुद नाफा ७० अर्ब

खुद नाफा २५% बढ्यो, निष्क्रिय कर्जा दोब्बर बढ्दा औसत लाभांश क्षमता ११.३८% मात्रै

सोमबार, २२ साउन, २०८०
डिजिटल संस्करण

आर्थिक वर्ष ०७९/८० मा वाणिज्य बैंकहरूको खुद नाफा ७० अर्ब १७ करोड पुगेको छ । यो अघिल्लो आवको भन्दा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ५६ अर्ब थियो । वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकमध्ये दुई बैंक कुमारी र प्राइमको नाफा घटेको छ ।

कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेको छ । कुमारीले गत आर्थिक वर्षमा एक अर्ब ९५ करोड ७१ लाख नाफा कमाएको छ । जबकि, अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा दुई अर्ब ५७ करोड थियो । त्यस्तै, प्राइम बैंकको नाफा १८.७० प्रतिशतले घटेर दुई अर्ब २६ करोड ३१ लाखमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा प्राइमले दुई अर्ब ७८ करोड नाफा आर्जन गरेको थियो । 

बढी कमाउनेमा नबिल अघि
गत आर्थिक वर्षमा सबैभन्दा बढी खुद नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले सात अर्ब ५२ करोड ७१ लाख नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा नबिलको खुद नाफा चार अर्ब २५ करोड रुपैयाँ थियो । यसबीच नबिलको नाफामा ७६.९४ प्रतिशतले वृद्धि भएको हो । त्यस्तै, दोस्रोमा ग्लोबल आइएमई बैंकले सात अर्ब २५ करोड ३४ लाख नाफा कमाएको छ । ग्लोबलले अघिल्लो आर्थिक वर्ष चार अर्ब ९५ करोड नाफा कमाएको थियो । ग्लोबलको नाफामा ४६.४६ प्रतिशतले वृद्धि भएको हो ।  

यस्तै, राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ९१ करोड ७१ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १४.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले चार अर्ब २९ करोड नाफा गरेको थियो । त्यस्तै, एनआइसी एसियाले चार अर्ब ६५ करोड नाफा कमाएको छ । यो अघिल्लो आवभन्दा १०.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले चार अर्ब २१ करोड नाफा गरेको थियो ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चार अर्ब २९ करोड ६६ लाख नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.१९ प्रतिशतले बढी हो । 

अघिल्लो आवमा यो बैंकको खुद नाफा तीन अर्ब ७९ करोड थियो । एनएमबि बैंकले गत आवमा तीन अर्ब ४१ करोड खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३.६४ प्रतिशतले बढी हो । गत अघिल्लो आवमा यो नाफा तीन अर्ब २९ करोड रुपैयाँ थियो । 

त्यस्तै, स्ट्यान्डर्ड चार्टर्डले गत आवमा ५६.४४ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आवमा दुई अर्ब २५ करोड मात्रै नाफा गरेको बैंकले गत आवमा तीन अर्ब ५२ करोड पुर्याएको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा तीन अर्ब १९ करोड नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै, सानिमा बैंकको नाफामा पनि २४.८८ प्रतिशतले वृद्धि भएको छ । नेपाल एसबिआई बैंकको नाफामा १४.४५ प्रतिशत, एभरेष्टको ३७.२४ प्रतिशत, प्रभुको ४८.४२ प्रतिशत, सिटिजन्सको १०.४२ प्रतिशत । माछापुच्छ्रे बैंकको १०.११ प्रतिशतले बढेको छ । 

 बैंकहरूको खराब कर्जा झन्डै ५% सम्म 
गत आर्थिक वर्षमा मन्दीको असरस्वरूप कर्जा असुलीमा समस्या बढेसँगै निष्क्रिय कर्जाको अनुपात (एनपिएल) दोब्बरले बढेको छ । वाणिज्य बैंकहरूको औसत खराब कर्जा २.७ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो अनुपात १.२ प्रतिशत थियो । वाणिज्य बैंकहरूको खराब कर्जा ०.७९ प्रतिशतदेखि ४.७७ प्रतिशतसम्म देखिएको छ । सबैभन्दा बढी खराब कर्जा कुमारी बैंकको ४.७७ प्रतिशत छ ।

त्यस्तै, हिमालयन बैंकको खराब कर्जा ४.५७ प्रतिशत, इन्भेष्टमेन्ट मेगाको ४.३५ प्रतिशत, प्राइमको ४.२३ प्रतिशत र प्रभु बैंकको खराब कर्जा ४.१६ प्रतिशत रहेको छ । सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको ०.७९ प्रतिशत रहेको छ ।त्यस्तै, एनआइसी एसिया बैंकको खराब कर्जा ०.८ प्रतिशत रहेको छ । नबिल, ग्लोबल, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक । सिटिजन्स बैंकको खराब कर्जा औसतभन्दा बढी देखिएको छ । त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबि, सिद्धार्थ, कृषि विकास, सानिमा, लक्ष्मी सन्राइज, नेपाल एसबिआई । माछापुच्छ्रे  बैंकको खराब कर्जा औसतभन्दा कम देखिन्छ ।

औसत लाभांश क्षमता ११.३८ प्रतिशत मात्रै, एभरेष्ट बैंक अब्बल
वितरणयोग्य नाफाका आधारमा एभरेष्ट बैंक अब्बल देखिएको छ । यो बैंकको वितरणयोग्य नाफा चार अर्ब ३३ करोड पुगेको छ । दोस्रोमा नबिल । तेस्रोमा एनआइसी एसिया बैंक रहेको छ । नबिलको वितरणयोग्य मुनाफा तीन अर्ब ९६ करोड छ भने एनआइसी एसियाको तीन अर्ब ६९ करोड छ ।  

सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले गत आवको मुनाफाबाट औसत ११.३८ प्रतिशत मात्रै लाभांश दिन सक्ने भएका हुन् । अझ दुई बैंकको लाभांश क्षमता ऋणात्मक देखिएको छ । सबैभन्दा बढी लाभांश क्षमता एभरेष्ट बैंकको ४०.५ प्रतिशत रहेको छ । त्यस्तै, एनआइसी एसियाको ३१.९९ प्रतिशत । स्ट्याडर्ड चार्टर्डको २८.९९ प्रतिशत रहेको छ ।

हिमालयन बैंकको लाभांश क्षमता ५.४९ प्रतिशत । कुमारी बैंकको ३.२४ प्रतिशतले ऋणात्मक देखिएको छ । इन्भेष्टमेन्ट, मेगा र प्रभु बैंकको लाभांश क्षमता १ प्रतिशतभन्दा पनि तल रहेको छ । ग्लोबल आइएमई, नेपाल बैंक, एनएमबि, सिद्धार्थ, लक्ष्मी सन्राइज, प्राइम र सिटिजन्स बैंकको लाभांश क्षमता औसतभन्दा कम रहेको छ । नबिल, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, सानिमा, नेपाल एसबिआई । माछापुच्छ्रे बैंकको लाभांश क्षमता भने औसतभन्दा बढी रहेको छ । 

सुझावित समाचार