स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्वल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायिक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड बैंकले सिक्वल फाउन्डेसनको ‘सिल्पः सेपिङ दी फ्युचर प्रोजेक्ट’लाई आर्थिक सहयोग प्रदान गरेको हो ।
सिल्प प्रोजेक्ट बागमती र कोसी प्रदेशका विद्यालय वा उच्च माध्यमिक विद्यालय छाड्ने युवतीहरूलाई सर्टिफाइन्ड ब्लु–कलर जब स्किल प्रदान गरी सशक्तीकरणमा केन्द्रित रहेको जनाइएको छ । यो ‘प्रोजेक्ट किशोरी’ विस्तारित परियोजना भएको र युवतीहरूलाई आधारभूत, वित्तीय, डिजिटल र जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले सञ्चालित भएको जनाइएको छ ।
प्रोजेक्ट किशोरीले युवतीहरूलाई आवश्यक रूपान्तरण र जीवन उपयोगी सीप प्रदान गर्ने तथा प्रोजेक्ट सिल्पले अघिल्लो समूहका केही सर्ट लिस्ट गरिएका युवतीहरूलाई उद्योग सञ्चालनका कामका लागि आवश्यक सीप प्रदान गर्ने जनाइएको छ । यी दुवै प्रोजेक्टको मुख्य लक्ष्य सातै प्रदेशका १० वटाभन्दा बढी सार्वजनिक कलेजका दुईभन्दा बढी उच्च शिक्षा हासिल गरेका युवतीहरूलाई लाभान्वित बनाउने रहेको बैंकले जनाएको छ ।
बैंककी कर्पोरेट अफेयर्स, ब्रान्ड एन्ड मार्केटिङ हेड वर्षा पिल्लाईले सिक्वल फाउन्डेसनसँगको सहकार्यले पिछडिएका युवतीहरूलाई आफ्नो शिक्षालाई निरन्तरता दिन हौसला प्रदान गर्ने बताइन् । उनले भनिन्, ‘उनीहरूलाई प्रदान गरिने जीवन उपयोगी सीपले तिनका परिवाहरूको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । आउँदो पुस्तालाई सिक्न, कमाउन र बढ्नका लागि सशक्तीकरण गर्ने उद्देश्यले हाम्रो विश्वव्यापी पहल ‘युचरमेकर्स बाई स्ट्यान्डर्ड चार्टर्ड’सँग यो परियोजनामा जोडिएका हौँ ।’