भावी कार्यक्रमबारे एकीकृत समाजवादीमा मतभेद

शुक्रबार, ५ साउन, २०८०
डिजिटल संस्करण

जबजले अघि सारेको कार्यक्रमको पक्षमा नेपाल, समाजवादी कार्यक्रमको अडानमा खनाल

भावी कार्यक्रमको विषयले सत्तारूढ एकीकृत समाजवादीमा मतभेद देखिएको छ । जनताको बहुदलीय जनवादले अघि सारेको कार्यक्रमअनुसार जाने कि समाजवादी कार्यक्रमअनुसार भन्नेमा मतभेद देखिएको हो । एक पदाधिकारीले दिएको जानकारीअनुसार राजधानीमा जारी सचिवालय बैठकमा जबजले अघि सारेको कार्यक्रम वा समाजवादी कार्यक्रम भन्नेमा मतभिन्नता देखिएको हो ।

ती पदाधिकारीका अनुसार सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सान्दर्भिकता अझै रहेको बताएका छन् । सचिवालयका १४ सदस्यले धारणा राखिसकेपछि नेपालले बिहीबार धारणा राखेका हुन् । ‘कार्यक्रमका विषयमा अध्यक्ष र सम्मानित नेताको धारणा फरक देखियो । अध्यक्षले जबजको औचित्य अझै बाँकी रहेको बताउनुभयो भने सम्मानित नेताले जबजको सान्दर्भिकता सकिएकाले समाजवादी कार्यक्रममा जानुपर्नेमा जोड दिनुभयो । सचिवालयका कमरेडहरूको मिश्रित प्रतिक्रिया रह्यो,’ कार्यक्रमका विषयमा थप छलफल गर्दै महाधिवेशनबाट टुंग्याउने तयारी रहेको ती सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए ।

नेपालले सुझबुझका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले वर्तमान तरल राजनीतिक अवस्थामा पार्टीको भूमिका महत्वपूर्ण रहेको र वर्तमान सत्तागठबन्धनलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । बिहीबारको बैठकमा नेपालले धारणा राखेपछि राजनीतिक र वैचारिक विषयमा सदस्यबीच फेरि छलफल भएको थियो । बिहीबारको बैठक पनि ‘वर्तमान परिस्थिति र हाम्रो कार्यभार’ विषयमा नै केन्द्रित रह्यो । गत शुक्रबार सुरु भएको बैठक आइतबार सक्ने तय गरिए पनि नेताहरूले घन्टौँ बहस गरेपछि लम्बिएको हो । 

‘राजनीतिक विषयमा लामै बहस भयो । सैद्धान्तिक र वैचारिक रूपमा स्पष्ट भएर अगाडि बढ्न यस्तो बहस आवश्यक थियो,’ ती सदस्यले भने । प्रधान अन्तर्विरोध तोकेर जाने र परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने भन्ने विषयमा पनि मतभेद देखिएको छ । अध्यक्ष नेपालसहितका नेताहरू परिस्थितिअनुसार निर्णय गर्दै अगाडि बढ्नुपर्नेमा छन् भने खनालसहितका केही नेताले प्रधान अन्तर्विरोध तोकेर अगाडि बढ्नुपर्नेमा छन् ।

सांगठनिक काम र सरकार–संसद्बारे छलफल हुनै बाँकी
एक सातदेखि जारी एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीको सांगठनिक कामका साथै सरकार र संसद्को विषयले अझै प्रवेश पाएको छैन । शुक्रबारको बैठकमा कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, युवा र विद्यार्थीको महाधिवेशन, विभागहरूको कामको व्यवस्थापनबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ । स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकबारे पनि सचिवालय बैठकले निर्णय लिनेछ ।
 

सुझावित समाचार