नेकपा (एमाले)ले पार्टीमा रहेका संगठित सदस्यहरूको संख्या नघटेको दाबी गरेको छ । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै एमालेको सदस्य संख्या नघटेको दाबी गरेका हुन्।
‘नेकपा (एमाले)को सदस्य घटे भन्ने बजारहल्लामा कुनै सत्यता छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्ने क्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य संख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन्।’
दशौँ महाधिवेशनका वेला रहेको त्रुटिलाई सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य संख्या रहेको उनले स्पष्ट पारे। एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ संख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उनले बताएका छन्।
‘दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढंगले दिइएका सदस्यको ठूलो संख्या पनि त्यसमा पर्न गएको थियो। तसर्थ, त्यो एमालेको वास्तविक सदस्य संख्या थिएन,’ उनले भने।