कोरियाबाट फर्किएका युवकको बसमै नौ लाख चोरी, चारजना पक्राउ

शुक्रबार, २२ असार, २०८०
डिजिटल संस्करण

कोरियाबाट फर्किएकै दिन एक युवकको सार्वजनिक बसमा नेपाली रुपैयाँ नौ लाख २३ हजारबराबरको अमेरिकी डलर चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न तीनजना र स्रोत नखुलेको डलर साट्ने एक व्यवसायीलाई पक्राउ गरेको छ । 

कोरियाबाट फर्किएका विष्णु अधिकारीको गत मंगलबार सार्वजनिक बसमा सात हजार ४७ अमेरिकी डलर (नौ लाख २३ हजार नेरु) चोरी भएको हो । उनी विमानस्थलबाट सार्वजनिक बसमै ग्वार्काे पुगे । बसबाट झर्दा झोलामा रहेको डलर हराएको थाहा पाएपछि उनको होसहवास उड्यो । विदेशमा कमाएको पैसा नेपाल आएलगत्तै गुमाएपछि हतार–हतार प्रहरीमा पुगे । 

प्रहरीले सोही दिन नै सूक्ष्म अनुसन्धान गरी चोरीमा संलग्न तीनजनालाई पक्राउ गर्न सफल भएको हो । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नम्बर ६ घर भई हाल जिल्ला भक्तपुर ठिमी बस्ने सञ्जीव तामाङ, पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौंको दक्षिणकाली बस्ने आइतमान तामाङ तथा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नम्बर ३ घर भई हाल ललितपुर इमाडोल बस्ने सबिना तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । ‘उनीहरू पेसेवर पकेटमार हुन्,’ अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी भन्छन्, ‘सम्बन्धित व्यक्तिले चाल नै नपाई पैसा निकाल्न उनीहरू सफल भएका थिए ।’ विमानस्थलबाट नै निगरानी र पिछा गरी उनीहरूले अधिकारीलाई लुट्ने योजना बनाएको हुन सक्ने प्रहरी आशंका छ । बसमा सामान्य भिडभाड भएकाले त्यही मौकामा अधिकारीको पैसा चोरेका हुन् । 

प्रहरीले चोरीको डलर साट्ने ललितपुर वकुबहालस्थित महाबुद्ध मनी एक्सचेन्जकी सञ्चालिका मंगललक्ष्मी श्रेष्ठलाई पनि पक्राउ गरेको छ । स्रोत नखुलेको डलर साटेकाले उनलाई पक्राउ गरिएको एसएसपी केसीले बताए । उनले २८ सय डलर साटेकी थिइन् । सो डलर पनि प्रहरीले बरामद गरेको छ । पक्राउ परेकाहरूसँग दुई लाख नगद भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर ललितपुर प्रहरीले कारबाही अघि बढाएको छ ।   

एलओडी क्लबका सञ्चालक पक्राउ 
ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबका सञ्चालक राजुसिंह सुवाललाई प्रहरीले पक्राउ गरेको छ । सो क्लबमा पुगेकी एक नाबालिका बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकमाथि पनि कारबाही अघि बढाएको  हो । 

गत ३१ जेठमा क्लबमा १५ वर्षीया एक किशोरी पुगेकी थिइन् । त्यहीँ चिनजान भएका सुदन कोइरालाले उनलाई ललितपुरमा लगेर बलात्कार गरेका थिए । घटनाको अनुसन्धानमा नाबालिकालाई क्लबमा प्रवेश गराएको खुलेपछि सञ्चालकलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी सिद्धिविक्रम शाहले बताए । सो घटनाका क्लबका सञ्चालकलाई भने बालबालिकासम्बन्धी ऐनअनुसार कारबाही गर्न लागिएको छ । क्लबका अर्का सञ्चालक रुदिल श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सो घटनापछि ठमेलका क्बलले उमेर खुल्ने परिचयपत्र हेरेर मात्र किशोर–किशोरीलाई क्लबभित्र प्रवेश दिन थालेका छन् । 

See More On

सुझावित समाचार