शीर्ष तीन दलका नेताहरुबीच संसदीय समितिको सभापति छिट्टै चयन गर्ने सहमति जुटेको छ। मंगलबार सिंहदरबारमा बसेको सभामुखसहितको शीर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले जानकारी दिए।
उनका अनुसार छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशील, स्तरीय बनाउने बारेमा पनि छलफल भएको छ।
‘संसदीय समितिको सभापति चयन तत्कालै गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ। अब हाम्रो ध्यान, (बजेट पारित भएकाले, समिति गठनतिरै केन्द्रित भएको छ। छिट्टै नै समितिले नेतृत्व पाउँछ’ उनले भने।
लामो समयदेखि संसदीय समितिहरुको नेतृत्व ज्येष्ठ सदस्यबाट भइरहेको छ। त्यो परिस्थिति छिट्टै अन्त्य हुने उनको भनाइ छ। घिमिरेले भने, ‘सल्लाह सुझाव मागेँ– चुनाव गर भन्नुहुन्छ की सहमति गर्नुहुन्छ। त्यसमा तत्काल भएन भने मैले आफ्नो स्टेप चाल्नुपर्नेछ भनेँ।’
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पनि बैठकमा छिटोभन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए।