सुनसरीमा ४७ जनाले लिए वंशजको नागरिकता, भिड बढेपछि पालिका विभाजन

बुधबार, १३ असार, २०८०
डिजिटल संस्करण

आजका लागि एक सय ६० जनालाई टोकन दिइयो

जिल्ला प्रशासन कार्यालय सुनसरीबाट पहिलो दिन नै ४७ जनाले वंशजको आधारमा नागरिकता पाएका छन् । जन्मका आधारमा नागरिकता लिएकाहरूका सन्ततीहरूले वंशजको आधारमा नागरिकता वितरण मंगलबारबाट सुरु भएको हो । पहिलो दिन सयजनाले नागरिकता पाएकोमा ४७ जनाले वंशजको आधारमा लिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हुमकला पाण्डेले बताइन् । उनीहरूले नेपाल नागरिकता ऐन, २०६३  लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ बमोजिम नागरिकता प्राप्त गरेका हुन् ।

प्रजिअ पाण्डेका अनुसार २९ महिला र १८ पुरुषले वंशजको आधारमा नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालयले पहिलो दिन भिड बढेपछि एक सय ६० जनालाई आजका लागि टोकन दिएको छ । धेरैजनाको कागजात पनि पूरा नभएको सेवाग्राही आएको प्रशासनले जनाएको छ । ‘पहिलो दिन ४७ जनाले वंशजको आधारमा नागरिकता पाउनुभयो,’ प्रजिअ पाण्डेले भनिन्, ‘कतिजनाको कागजात पुगेको थिएन । उहाँहरूलाई बुझाएर कागजात ल्याउन भन्यौँ ।’

भिड बढेपछि पालिका विभाजन
पहिलो दिन नै दुई सय ५० भन्दा बढी सेवाग्राही आएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पालिकाअनुसारको दैनिक सेवा दिने भएको छ । प्रशासनले मंगलबार नै एक सूचना जारी गर्दै बिहीबारबाट नागरिकता प्राप्त गर्न पालिका विभाजन तालिकाअनुसार आउन अनुरोध गरेको छ । आइतबार इटहरी उपमहानगरपालिका, सोमबार रामधुनी नगरपालिका र भोक्राहा गाउँपालिका, मंगलबार बराहक्षेत्र नगरपालिका, बुधबार दुहबी नगरपालिका, बिहीबार इनरुवा नगरपालिका र गढी गाउँपालिका र शुक्रबार कोसी गाउँपालिकाका सेवाग्राहीले नागरिकता लिन जानुपर्नेछ । ‘पहिलो दिन नै धेरै चाप थियो, चापअनुसारको सबैलाई सेवा दिन गाह्रो हुन्छ,’ प्रजिअ पाण्डेले भनिन्, ‘सो चापलाई कम गरी सेवाग्राहीहरूलाई सरल तरिकाले सेवा प्रदान गर्न पालिका विभाजन गरेका छौँ ।’

गत आइतबार कार्यालयले सूचना जारी गरेको थियो । सो सूचनाअनुसार वंशजको आधारमा नागरिकता प्राप्त सूचनाअनुसार जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता प्राप्त गर्न अनुसूची १ फाराम भर्नुपर्ने, बाबु र आमाको नागरिकताको प्रमाणपत्र, सक्कल जन्मदर्ता प्रमाणपत्र, आमाबुबा र नागरिकताका लागि आवेदन दिने व्यक्तिबीच फोटोसहितको नाता प्रमाणित प्रतिलिपिलगायतका कागजात संलग्न गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरूका सन्तानले वंशजका आधारमा नागरिकता पाउन थालेका हुन् । सर्वोच्चले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ऐन कार्यान्वयनको बाटो खुलेको हो ।

सुझावित समाचार