नक्कली गुठियार र मोही खडा गरी काठमाडौं– २९ का वडाध्यक्ष कुश ढकालले अनामनगरस्थित धोबीखोलाको जग्गा व्यक्तिलाई दिन सिफारिस गरेको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । अख्तियारले विशेष समिति गठन गरेर विस्तृत अनुसन्धान गर्न निर्देशन दिएकोमा समितिले वडाध्यक्ष ढकाल र वडासदस्य अनिलकुमार श्रेष्ठसँग बयान लिइसकेको छ ।
अख्तियार प्रवक्ता भोला दाहालले धोबीखोलाको जग्गा व्यक्तिको नाममा दिन सिफारिस गरेको सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको बताए । ‘अनामनगरस्थित धोबीखोलाको जग्गा व्यक्तिको नाममा धनीपुर्जा दिन वडाध्यक्षले सिफारिस गरेको विषयमा हामीले विस्तृत अनुसन्धान सुरु गरेका छौँ । घटना अनुसन्धानकै क्रममा रहेको हुँदा यस विषयमा पछि मात्र थप जानकारी दिन सकिन्छ,’ उनले भने ।
ढकालले ११ माघ ०७७ मा काठमाडौं– २९ अनामनगरस्थित १० रोपनी १२ आना दुई पैसा एक दाम जग्गा केदारेश्वर महादेव गुठीको नाममा नामसारी गरी व्यक्तिलाई दिन सिफारिस गरेको सम्बन्धमा गत आइतबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो । पत्रिकालाई प्राप्त विवरणअनुसार उनले एकजना नक्कली भोगचलन कर्ता (गुठियार) र १८ जना मोही खडा गरी सोही आधारमा धनीपुर्जा दिन गुठी संस्थानलाई सिफारिस गरेका थिए । उनले कित्ता नं. १, २०, २, २२, ११, ७०, ५, ९, १०, ३८, ४२, ६८, २४२, २४३, २०५, २०६, १८७ र १७७ को जग्गा व्यक्तिको नाममा धनीपुर्जा जारी गर्न त्रिपुरेश्वरस्थित कालमोचन गुठी शाखा कार्यालयलाई पत्र लेखेका थिए । गुठीलाई लेखिएको च.नं. १७९७ नम्बरको पत्रअनुसार उक्त जग्गामा ०३८ सालदेखि नै सम्बन्धित व्यक्ति बसोवास गर्दै आएको, उनीहरूले विद्युत् प्राधिकरणलाई बिल तिरेको र निर्वाचन आयोगको मतदाता सूचीमा समेत उनीहरूको नामावली रहेको हुँदा धनीपुर्जा बनाइदिन उल्लेख छ । चलनचल्तीको मूल्यअनुसार उक्त जग्गाको मूल्य एक अर्ब ७६ करोड रुपैयाँ पर्छ ।
काठमाडौं महानगरपालिकाको लेटरहेडमा ढकालको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘गुठी तैनाथी जग्गामा घर टहरा बनाई भोगचलन गर्दै आएकोमा मोही कायम गरिदिने भन्ने कानुनी व्यवस्था भएको र २६ चैत ०४६ पहिलेदेखि गुठी तैनाथी जग्गामा आफ्नो पुँजी लगाई घर बनाएर बसी भोग गरिरहेकामा लालपुर्जा दिनेसम्मको कुराको कानुनी व्यवस्था भएको हुँदा उक्त जग्गा केदारेश्वर महादेव गुठीको नाममा चौतारिया पत्तेजंग पराक्रम शाहको मौजाअन्तर्गत रहेकाले निजको नाममा जग्गा धनीपुर्जा बनाइदिनुहुन विनम्र अनुरोधका साथ सिफारिस गर्दछु।’
पत्रमा उल्लेख भएअनुसार उनले भीमबहादुर खड्का, रामबहादुर तोम, पृथ्वीराम पौडेल, विष्णुप्रसाद खतिवडा, भूमिनन्द अधिकारी, कृष्ण गुरुङ, बालिका थापा, रञ्जन भण्डारी, विद्या कोइराला, हिरामाया मोक्तान, वादुलाल तामाङ, कृष्णबहादुर गुरुङ, गणबहादुर तोम, मानबहादुर गुरुङ, सोमबहादुर खड्का, प्रेमबहादुर लामा, कृष्णबहादुर खत्री र कैलाश श्रेष्ठलाई नक्कली मोही बनाएका छन् भने चौतारिया पत्तेजंग पराक्रम शाहलाई जग्गाको नक्कली भोगचलनकर्ता (मौजा) बनाएका छन् ।