रास्वपामाथि सातो जाने घेराबन्दी छ : लामिछाने

आइतबार, २८ जेठ, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीविरुद्ध घेराबन्दी र बाधाको प्रयास भइरहेको दाबी गरेका छन् । शनिबार काठमाडौंस्थित बुद्धनगरमा आयोजित अर्घाखाँची–काठमाडौं भेलामा सम्बोधन गर्दै लामिछानेले सातो जाने किसिमको घेराबन्दी भए पनि नडराउने बताएका छन् । 

‘तपाईंहरूलाई अब रास्वपा सरासर सरर्र सजिलैसँग जान्छ, ०८४ मा त एकदम सजिलो हुन्छ भन्ने लागेको होला । जनताले देखाएको बाटो त सजिलो छ,’ उनले भने, ‘तर यो बाटोमा सम्पूर्ण दलले जुन बाधा, जुन घेराबन्दी गर्नेवाला छन्, त्यो सातो जाने खालको छ । तर, हामी डराउँदैनौँ । हामीले दिएका विचारको मण्डन गर्ने र अनेक तरिकाले त्यसको व्याख्या गर्ने काम निरन्तर चलिरहन्छ ।’

लामिछानेले टेलिभिजन कार्यक्रम चलाउनभन्दा राजनीति गर्नु धेरै कठिन रहेको बताए । ‘हामी असन्तुष्टि प्रकट गरिरहन्छौँ, असन्तुष्टिको प्रकटले देश नसप्रिने रहेछ,’ उनले भने, ‘असन्तुष्टि प्रकट गरेर टेलिभिजनमा मलाई सजिलो थियो । तर, अब आफैँ गर्छु भनेर आउँदा कैयौँ घेराबन्दी र प्रश्नको सामना गर्नुपरेको छ ।’ 

नागरिक विधेयकको मुद्दालाई लिएर पनि आफ्नो पार्टीप्रति गलत भाष्य निर्माण गर्न खोजिएको उनको दाबी छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको उनको तर्क थियो । 

लामिछानेले रास्वपाका २१ जना सांसद नै ‘बाहुबली’ भएको दाबी गरे । ‘देशको पहरेदारको काम गर्न हामी २१ जना पर्याप्त छौँ । हामी बाहुबली नै हौँ,’ उनले भने, ‘कुनै पनि राष्ट्रघाती काम यो सदनमा हुन दिइनेछैन । नेतृत्वको हरेक तह र तप्कामा घन्टी बजेपछि मात्रै यो देशमा परिवर्तन सम्भव छ, नत्र सम्भव छैन ।’

नक्कली शरणार्थी प्रकरणमा हाँगाबिँगा मात्रै पक्राउ परेको उनको भनाइ छ । ‘हेर्दा पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री समातिए भन्ने लागेको होला । तर, ती मानिस भ्रष्टाचारको जरा होइनन्, हाँगाबिँगा मात्र हुन्,’ उनले भने, ‘यसको जरा बाँकी नै छ ।’

सुझावित समाचार