लुम्बिनी : मुख्यमन्त्रीमा फेरि पनि एमालेकै दाबी

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

लुम्बिनीमा एमालेले ठूलो दलका हिसाबले फेरि सरकारमा दाबी गर्ने भएको छ।

एमालेका सांसद तथा मन्त्रिपरिषद्का प्रवक्ता चेतनारायण आचार्यका अनुसार ठूलो दलका हिसाबले दाबी पेस गर्ने तयारी छ। त्यसका लागि प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ६ बजे दाबी पेस गर्ने तयारी छ।

विश्वासको मत नपाएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रिपरिषद् बैठक बोलाएर ठूलो दलका हिसाबले एमाले संसदीय दल नेता गिरीलाई नै मुख्यमन्त्री नियुक्ति गर्नका लागि सुझाब दिने निर्णय भएकोसमेत उनले बताए।

‘विश्वासको मत नपाएपछि मन्त्रिपरिषद् बैठक बस्यो,’ उनले भने, ‘अहिलेको सरकार १६८(२) अन्तर्गत थियो, तर विश्वासको मत नपाएपछि यो धारा निष्क्रिय भइसकेको छ। अब १६८ (३) सक्रिय हुन्छ, सोहीअनुसार सरकारको नेतृत्व तोकेर सल्लाह दिने निर्णय गरेका छौँ।’
 
सोमबार मुख्यमन्त्री गिरीले विश्वासको मत मागेका थिए। तर, ८७ सांसद रहेको संसदमा गिरीले एमालेका २९ र राप्रपाका ४ मत गरी ३३ मत मात्रै प्राप्त गरेका थिए। विपक्षमा ५३ मत परेको थियो। 

ती ५३ सांसदले यसअघि नै कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री तोक्नका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गरिसकेका छन्।  

माओवादी केन्द्रलगायतका दलले १२ चैतमा समर्थन फिता लिएपछि उनी अल्पमतमा परेका थिए। लगत्तै, कांग्रेसका २७, माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा र जनमत पार्टीका ३ र ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद तथा एकजना स्वतन्त्र सांसद प्रतिपक्षमा बसेका थिए।

सुझावित समाचार