चन्द्रनगरमा गाउँपालिकाबाटै कृषि मिटर वितरण सुरु

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले खेती सिँचाइका लागि कृषि मिटर वितरण सुरु गरेको छ । गाउँपालिकाले सोमबारबाट किसानलाई कृषि मिटर वितरण सुरु गरेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

गाउँपालिकाको समन्वयमा नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रले पालिका कार्यालय प्रांगणमै कृषि मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने, पेस गर्ने, फारम रुजु स्टिमेट गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्नेलगायतका काम यसअघि नै गरिसकेको थियो । प्राधिकरणले धमाधम किसानको खेतखेतमा पुगेर कृषि मिटर जडान गर्न सुरु गरेको वितरण केन्द्र प्रमुख उमेश यादवले जानकारी दिए ।

पालिकाले चालू आर्थिक वर्षमा कृषि विद्युतीकरण र किसानको सिँचाइबापतको बिल भुक्तानीका लागि एक करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । गत पुस २९ गते सम्पन्न १२औँ गाउँसभा बैठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने निर्णयसमेत गरेको छ । ३८ हजार जनसंख्या रहेको यस पालिकामा ९९ प्रतिशत नागरिक कृषि पेसामा आबद्ध रहेको गाउँपालिकाले जनाएको छ ।

सुझावित समाचार