३ प्रश्न

सोमबार, २९ फागुन, २०७९
डिजिटल संस्करण

लगानीकर्ता संरक्षण कोषको रकम कार्यविधिविपरीत खर्च भएको समाचार आएको छ । लगानीकर्ता संरक्षण कोषलाई कसरी प्रयोग गर्नुपर्छ ?
लगानीकर्ता संरक्षण कोष लगानीकर्ताको हितमा काम गर्नका लागि खोलिएको हो । यसलाई साधारण कार्यमा कुनै कार्यविधि नबनाई खर्च गर्नुहुँदैन । कोषको रकम पुँजीबजार, लगानी नीति, कम्पनी कानुन वा व्यापार तथा व्यवसायसम्बन्धी पेसागत कानुनको सुधारमा खर्च गर्न ल्याइएको हो । खर्च गर्दा पुँजीबजार स्तरोन्नतिलाई पहिलो प्राथमिकता दिनुपर्छ ।

 कोषको रकम साधारण कार्यमा खर्च भइरहेको रहेछ । यसलाई कसरी हेर्नुभएको छ ?
कोषको रकम लगानीकर्ता र लगानीकर्ताहरूका संघ–संगठन तथा सरोकारवालाहरूसँग परामर्श नगरी नियामक निकायको तजबिजमा जथाभावी खर्च गरिएको पाइएको छ । यसबारे हामीले धेरैपटक आवाज उठायौँ, तर सुनुवाइ भइरहेको छैन । नेपाली पुँजीबजारको विकास र विस्तारको सुनिश्चितताका लागी खर्चिनुपर्ने रकम जथाभावी साधारण कार्यमा खर्च गर्नु उचित होइन । हामीले शान्तिपूर्ण रूपमा राखेका माग र सुझावलाई मनन नगरिनु दुःखद छ ।

कोषलाई सही व्यवस्थापन गर्न के गर्नुपर्छ ?
कोषको व्यवस्थापन तथा सञ्चालन रजिस्ट्रार, धितोपत्र बोर्डको अध्यक्ष वा निजको प्रतिनिधि र धितोपत्र बजार सञ्चालन गर्ने संस्थामध्येबाट धितोपत्र बोर्डले नियुक्त गरेको एकजना प्रतिनिधिसमेत रहेको समितिले निर्णय गरेर गर्ने व्यवस्था छ । कोषको सही व्यवस्थापन गर्न लगानीकर्ताहरूको हितलाई केन्द्रमा राख्नुपर्छ । सरोकारवालाहरूसँग परामर्श गरेर कामकारबाही अगाडि बढाउँदा नै प्रभावकारी हुन सक्छ । 

सुझावित समाचार