काठमाडौं महानगरपालिकाले पर्यटकीयस्थल दरबारमार्ग क्षेत्रको स्वरूप परिवर्तन गर्ने भएको छ । महानगरले पाँच करोड खर्च गरेर हाल भएको दरबारमार्गको स्वरूप बदल्न लागेको हो ।
यसअघि दरबारमार्गबाट पार्किङ हटाएर कामको सुरुवात भइसकेको महानगरले जनाएको छ । थप सुधारका लागि टेन्डरसमेत भइसकेको महानगरअन्तर्गत सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले बताए । दरबारमार्गलाई सौन्दर्यीकरण गर्न ८ फागुनमा महानगरले टेन्डर आह्वान गरेको थियो । सौन्दर्यीकरणसम्बन्धी थप काम वैशाखबाट हुने महानगरले जनाएको छ । सौन्दर्यीकरणको डिजाइनसमेत तयार पारिसकेको थापाले बताए ।
महानगरका अनुसार दबारमार्ग क्षेत्रको फुटपाथ पुनर्निर्माण, साना बगैँचा निर्माण, नयाँ ढल, बाटो, सडकबत्ती जडान, बाटोको दुवै साइडमा लाइटिङमा पाँच करोड रुपैयाँ खर्च हुनेछ । मौसमअनुसारको फूल लगाएर गार्डेनिङ, ग्रेनाइट पनि बिछ्याइने महानगरले जनाएको छ ।
दरबारमार्गलाई नामअनुसारको बनाउन यस्तो काम गर्न लागिएको हो । महानगरले न्युरोड क्षेत्रको कुमारी र काष्ठमण्डपको आकृति भएको रेलिङ राख्ने काम गरेको थियो । दरबारमार्ग क्षेत्रमा नारायणहिटी दरबारको झल्को दिने खालको रेलिङको समेत व्यवस्था हुनेछ ।