नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई राष्ट्राध्यक्षमा निर्वाचित गर्न निर्णायक भूमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरेका छन् ।
नेपाललाई भेट्न उनको निजीनिवास कोटेश्वर पुगेका राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति बनाउन राखेको प्रस्ताव त्यागेर नेपालले आफ्नो नाम सहमतिका लागि अगाडि सारेका कारण निर्वाचित भएको स्मरण गरेका थिए ।
‘आज म जुन जिम्मेवारीमा आइपुगेको छु, त्यो तपाईंकै महत्वपूर्ण योगदान हो भन्नेमा म स्पष्ट छु । त्यसका लागि म आभार व्यक्त गर्छु,’ पौडेलको भनाइ उद्धृत गर्दै नेपालनिकट एक नेताले भने, ‘तपाईंको गुण म कहिल्यै बिर्सनेछैन ।’
अध्यक्ष नेपाललाई एमाले अध्यक्ष केपी ओलीले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार प्रस्तुत गरेका थिए । तर, उनी कांग्रसलाई बनाएर जाँदा उपयुक्त हुने भन्दै पछि हटेका थिए । पौडेलले नेपालको त्यही त्यागलाई लक्षित गर्दै पौडेलले प्रशंसा गरेका हुन् ।
जवाफमा नेपालले देशको अभिभावकका रूपमा काम गर्न सुझाब दिँदै आफूले सधैँ सहयोग गर्ने प्रतिबद्धतासहित बधाई दिएका थिए ।

सो भेटमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले एमालेसँगको गठबन्धन भत्काएर राष्ट्रपति निर्वाचनमा अर्को गठबन्धन बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहेको प्रस्ट्याउँदै अब यो गठबन्धनलाई कसरी टिकाउ हुने गरी लैजाने शीर्ष नेतृत्वकै हातमा रहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।