भंगहामा बालिका हराउने घटना दोहोरियो, सात बालिका दुई दिनपछि भेटिए

लोभमा पारेर आर्केष्ट्रा नचाउन लगिएको हुनसक्ने आकलन

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

महोत्तरीको भंगहा नगरपालिकाबाट बेपत्ता भएका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका छन् । गत सोमबार अपराह्न भंगहा– ९ कञ्चनवनबाट बेपत्ता भएका दलित समुदायका सात बालिका मंगलबार मध्यरात घर आइपुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको बालिका खोजी गर्ने विशेष टोलीले मंगलबार बिहान जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरेको थियो । उनीहरू सर्लाहीमा रहेको पत्ता लगाएर सो ठाउँ पुग्नै लाग्दा बालिकाहरू फर्किएका प्रहरीले जनाएको छ ।

हराएर भेटिएका बालिकामध्ये एकजना १८ वर्षीया तथा बाँकी १४ र १३ वर्षका रहेका छन् । उनीहरूले आफूहरू मेला घुम्न गएको प्रारम्भिक बयान दिएका प्रहरीले जनाएको छ । 

घटनाबारे यथार्थ विवरण अझै खुल्न नसके पनि उनीहरूलाई कलाकार बनाउने भनी आर्केस्ट्रा नचाउन लगिएको हुन सक्ने प्रहरीको आकलन छ ।  यद्यपि, यही कारण नै हो भन्ने यकिन नभएको र अनुसन्धान जारी रहेको अनुसन्धानमा खटिएका प्रहरी टोलीको भनाइ छ । प्रहरीले बालिकाहरूको पछिल्लो दुई दिनको गतिविधि, उनीहरू पुगेको ठाउँ र कारणबारे सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ । यस घटनामा लुकेका धेरै पक्ष हुन सक्ने भएकाले यसलाई गम्भीरताका साथ अनुसन्धान गर्न निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लले बताए ।

सामाजिक वातावरण सकारात्मक नहुनु, प्रभावकारी अभिभावकत्व नहुनु, शिक्षा र चेतनाको अभाव, बालबालिकामैत्री वातावरण नहुनु, सामाजिक सञ्जालको बढ्दो नकारात्मक प्रयोग र उचित मार्गनिर्देशन अभावले यस्तो घटनाहरू दोहोरिने गरेको उनी बताउँछन् । कसैको लहलहैमा लागेर वा आफैँ कलाकार बनेर फेमस हुने लोभलेसमेत घटना भएको हुन सक्ने उनको बुझाइ छ ।

यसअघि २०७७ चैत १७ गते भंगहाकै वडा नम्बर ८ धर्मपुरबाट हराएका सात बालिकाको भारतीय रेल्वे पुलिसले सीतामढी रेल्वे स्टेसनबाट उद्धार गरेको थियो । पुनः सोही प्रकृतिको घटना दोहोरिएपछि यसलाई चिन्ताजनक रूपमा लिइएको छ ।

यता ह्युमन रिह्याबिलिटेसन सेन्टर महोत्तरीकी अध्यक्ष लीला दियाली भंगहामै, दलित समुदायकै, एउटै प्रकृतिको घटनामा सातैजना बालिका हराउनुले धेरै प्रश्न उब्जाएको बताउँछिन् । पछिल्लो घटनामा समेत प्रहरी अनुसन्धान सन्तोषजनक नभएको बताउँदै उनले घटनाको सूक्ष्म अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरिन् ।

सुझावित समाचार