ओखलढुंगामा एक वृद्वा दम्पती रूखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
जिल्लाको मोलुङ गाउँपालिका– २ लामीडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका दाहाल घरनजिकैको रूखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घरबाट करिब दुई सय मिटर पूर्वमा फणिन्द्रबहादुर सार्कीको बारीमा खनिउको रूखमा श्रीमान् र करिब ४० मिटर पर सिरिसको रूखमा श्रीमती झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
आत्महत्या वा हत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको निरीक्षक दासले बताए। घटना शंकास्पद रहेको र दाहालदम्पतीका छोराछोरी काठमाडौंमा रहेकाले परिवारका सदस्य आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। दाहाल नेपाली कांग्रेसका नेता हुन्।