काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर २ र वडा नम्बर १ जोड्ने ढुंखर्क खोला–च्याम्राङबेँसी सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन काठमाडौं विश्वविद्यालय (केयू)ले गर्ने भएको छ । विश्वविद्यालयले त्यहाँको वातावरणीय प्रभाव, भौगर्भिक अवस्था, टनेलको डिजाइन र अनुमानित लागत सबै अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन प्रदान गर्ने भएको हो ।
बुधबार विश्वविद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका र केयूबीच तीनबुँदे समझदारी भएको छ । केयूका उपकुलपति डा. भोला थापा र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । तीनबुँदे समझदारीमा ढुंखर्क खोला–च्याम्राङबेँसी सुरुङमार्गको प्रारम्भिक प्राविधिक अध्ययन गर्नका लागि गाउँपालिकाले १० लाख रुपैयाँ बजेट उपलब्ध गराउने उल्लेख छ ।
पनौती हुँदै बेथानचोकदेखि बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने सडकको बीचमा सुरुङ बनेपछि समयको बचत हुने भएको छ । उक्त सुरुङ अनुमानित एकदेखि साढे एक किलोमिटर हुने अनुमान गरिएको छ । प्रारम्भिक प्राविधिक अध्ययन अबको चार महिनामै सक्ने गरी काम गर्ने बताइएको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै केयूका उपकुलपति डा. थापाले देश बनाउनकै लागि विश्वविद्यालयको स्थापना भएको र स्थानीय सरकारसँग मिलेर काम गर्न पाउँदा खुसी लागेको बताए । उक्त सुरुङमार्ग विश्वविद्यालयका लागि जीवन्त प्रयोगशाला पनि हुने उनको भनाइ थियो ।
सर्वसुलभ रूपमा तीव्र गतिमा राम्रो अध्ययन गर्नका लागि इन्जिनियरहरूलाई उपकुलपति थापाले निर्देशन पनि दिएका छन् । दिगो सडक निर्माणका लागि सुरुङमार्गको योजना अगाडि बढेको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताए । बेथानचोक वडा नम्बर २ को सेतीभिरमा सुक्खा पहिरो गइरहने सडक पुरिइरहने समस्याको समाधानका लागि आयोजना अगाडि बढिरहेको अधिकारीले बताए ।