परिवर्तित राजनीतिक ‘कोर्स’लाई कसरी हेर्नुभएको छ ?
अहिलेको हाम्रो राजनीतिक ‘कोर्स’ देश र जनताको हितमा छैन, नेताहरूको हितमा मात्र केन्द्रित छ । गठबन्धन बन्ने र भत्किने खेलले देशको राजनीति चरम अस्थिरतातिर डोरिएको छ । भारतमा गठबन्धनको राजनीति ५–१० वर्षैसम्म टिकेको छ । तर, हामीकहाँ भने एकल बहुमत आउँदा पनि नटिकेको इतिहास छ । यो सबै देश र जनताको विकास र समृद्धिलाई केन्द्रमा राख्नुको साटो नेता र दलको समृद्धिलाई केन्द्रमा राख्नुको परिणाम हो ।
नयाँ गठबन्धनबाट राजनीतिक स्थायित्वको सम्भावना कति देख्नुहुन्छ ?
नेपालमा झन्डै झन्डै दुई तिहाईको बहुमत आउँदा पनि राजनीतिक स्थायित्व हुन सकेन । यस्तो अवस्थामा अहिलेको गठबन्धनबाट के स्थायित्वको कल्पना गर्नु ? मिलेर देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने हो भने असम्भव नै त छैन । तर, हाम्रा राजनीतिक दल र नेताहरूको चरित्र हेर्दा त्यस्तो सम्भावना देखिन्न ।
हामीले अपनाएको प्रणाली नै यो राजनीतिक अस्थिरताको जड त होइन नि ?
हामीले अपनाएको निर्वाचन प्रणालीबाट कसैको एकल बहुमत आउन सक्ने अवस्था देखिँदैन । समानुपातिक निर्वाचन प्रणाली अपनाउने विश्वका देशहरूमा पनि यही अवस्था छ । त्यहाँ पनि मिलिजुली सरकार नै बन्ने गरेका छन् । त्यहाँ सबैले आआफ्नो हैसियत बुझेर गठबन्धन गर्ने हुनाले मिलिजुली सरकार मजाले टिकिरहेका हुन्छन् । तर, हामीकहाँ भने मिजिलुली संस्कृतिको विकास हुनै सकेन । त्यसैले, पद र शक्ति बाँडफाँडलाई केन्द्रमा राखेर बन्ने गठबन्धनबाट राजनीतिक स्थायित्वको अपेक्षा गर्न सकिन्न ।