प्रतिनिधिसभाका ११ सांसदले अझै सम्पत्ति विवरण बुझाएका छैनन् । पद धारण गरेको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी व्यवस्था भए पनि ११ सांसदले अझै बुझाएका छैनन् ।
संघीय संसद् सचिवालयले गत पुस ८ मा एक सूचना जारी गर्दै फागुन ७ सम्म कार्यालय समयभित्र सम्पत्ति विवरण बुझाउन सूचना प्रकाशित गरेको थियो । तर, कानुन बनाउने सांसदहरूले नै कानुनी व्यवस्थाको बेवास्ता गरेका छन् ।
सम्पत्ति विवरण नबुझाउने सांसदहरूमा वर्षमान पुन, महिन्द्रराय यादव, मेटमणि चौधरी, पशुपतिशमशेर जबरा, मोहनबहादुर बस्नेत, टेकबहादुर गुरुङ (हाल निलम्बित), लक्ष्मी महताे कोइरी, अजयकुमार चौरसिया, उदयशमशेर जबरा, मनोरमा शेरचन र राजकुमार गुप्ता रहेका छन् ।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले त्यस्तो पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । सम्पत्ति विवरण नबुझाउनेलाई भ्रष्टाचार निवारण ऐनअनुसार पाँच हजार जरिवाना हुने व्यवस्था छ ।