विद्यालय शिक्षाको मन्दिर हो । शिक्षाविना मानिसको जीवन अन्धकार र अधुरो हुन्छ । त्यसैले भनिएको होला शिक्षा ज्ञानपुञ्ज हो । तर, शिक्षाको यस्तो मन्दिर सञ्चालन गर्न अझै पनि देशका कतिपय स्थानमा सकस नै छ ।
पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय एक रुपैयाँ अभियानले सञ्चालन भइरहेको छ । चैनपुर बजारमै रहेको यो विद्यालय सञ्चालन गर्न सकस भएपछि एक रुपैयाँ अभियान सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक उज्ज्वल कर्मचार्यले बताए । १० वर्षअघि ०६९ साल फागुन एक गतेबाट सञ्चालन गरिएको एक रुपैयाँ अभियानले अझै निरन्तरता पाइरहेको र प्रभावकारी पनि बन्दै गएको उनले बताए ।
हरेक दिन सयभन्दा बढी अभिभावकले एक रुपैयाँका दरले रकम जम्मा गर्दै आएका छन् । उनीहरूले चैनपुरस्थित विद्यालयको नाममा ग्लोबल आइएमई बैंकमा रहेको खातामा रकम जम्मा गर्ने गरेका प्रधानाध्यापक कर्माचार्यले बताए । उनका अनुसार अहिलेसम्म विद्यालयको कोषमा एक करोड ३७ लाख ५५ हजार सात सय ९५ रुपैयाँ ६४ पैसा जम्मा भएको छ । सोहीअनुसारको खर्च हुने गरेको र हाल केही रकम मात्रै बचत रहेको उनको भनाइ छ ।
हाल उक्त विद्यालयमा एक सय ६९ छात्र र दुई सय एक छात्रासहित तीन सय ७० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले फरक क्षमता (बौद्धिक अपांगता) भएका विद्यार्थीलाई समेत अध्ययन गराउँदै आएको छ । वि.सं. २०१५ सालमा स्थापना भएको यो विद्यालयले विभिन्न आरोह–अवरोह पार गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए । उनले आधारभूत तह (कक्षा १–८) अनुमति भए पनि माध्यमिक तह निजी स्रोतबाट सञ्चालन गर्दै आएको बताए ।
अहिलेसम्म विद्यालयले ११औँ पटक एसइई परीक्षामा विद्यार्थी सम्मिलित भई उत्कृष्ट ग्रेडसहित उत्तीर्ण भइरहेको विद्यालयको भनाइ छ । माध्यमिक तह निजीस्तरबाट सञ्चालन भइरहँदा विद्यालयलाई आर्थिक भार परिरहेको छ । भौतिक विकासका कार्यहरूसमेत हुन नसकिरहेकाले सरोकारवाला निकायहरूबाट साथ र सहयोगको अपेक्षा रहेको प्रअ कर्मचार्य बताउँछन् ।