रकम हिनामिना : पालिका अध्यक्षसहित तीनजनाविरुद्ध सिडिओ कार्यालयमा निवेदन, छानबिन गर्न प्रहरीलाई चिठी

भुम्लु गाउँपालिका

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्षसहित तीनजनाविरुद्ध किर्ते हस्ताक्षर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ। 

गाउँपालिकाका अध्यक्ष, अध्यक्षको प्रमुख सल्लाहकार र गुम्बा व्यवस्थापन समिति तथा गुम्बा पुनर्निर्माण समितिका अध्यक्षले मिलेर आफूखुसी किर्ते हस्ताक्षर, गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समिति फेरबदल गरी समितिको खातामा रहेको रकम हिनामिना गरेको आरोप लगाउँदै समितिका तत्कालीन सचिव र कोषाध्यक्षले जिल्ला प्रशासन कायालय काभ्रेमा निवेदन दिएका हुन्।  

निवेदनअनुसार गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेल, भुम्लु गाउँपालिका- ५ स्थित मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बाका अध्यक्ष डुक्मा दोर्जे लामा, गाउँपालिका अध्यक्ष भुजेलका प्रमुख सल्लाहकार तुलसी मान तामाङविरुद्ध किर्ते हस्ताक्षर र रकम हिनामिना गरेको आरोपमा गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण समितिका सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङ र सदस्य भोजबहादुर तामाङ लामाले संयुक्त रूपमा निवेदन सिडिओ कार्यालयमा पेस गरेका छन्।

उक्त निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले जाँचबुझ गरी आवश्यक कारबाही गर्नु भनी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई पत्र पठाइसकेको छ।

निवेदनमा भुम्लु गाउँपालिका– ५ स्थित मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बाका अध्यक्ष डुक्मा दोर्जे लामासँग गाउँपालिकाका अध्यक्ष भुजेल र प्रमुख सल्लाहकार तुलसीमान तामाङ आर्थिक लोभ लालचमा परेको उल्लेख गरेको छ।

०७९ साउन १८ गते समितिका सचिव, कोषाध्यक्ष र सदस्यहरूलाई जानकारी नै नगरी बैठक राखी उपस्थित नभएको सचिव, कोषाध्यक्ष र सदस्यको हस्ताक्षर स्क्यान गरी समितिमै नरहेको गाउँपालिकाका अध्यक्ष भुजेलका प्रमुख सल्लाहकार तामाङलाई कोषाध्यक्ष बनाएको उनीहरूको आरोप छ।

‘हामी बैठकमा उपस्थित भएका छैनौँ। अन्तै गरेको हस्ताक्षरलाई स्क्यान गरी ल्याएर टाँस गरेको हो,’ अमृतकुमार लामाले भने, ‘हामीहरूले हस्ताक्षर गरेका छैनौँ। प्रविधिक जाँच परीक्षण गरे सत्यतथ्य पुष्टि हुन्छ।’

वडाबाट दिनुपर्ने सिफारिसमा आफूलाई नभएको अधिकार प्रयोग गरी गाउँपालिका अध्यक्ष भुजेलले गुम्बाका अध्यक्ष डुक्मादोर्जे लामा र नियमविपरीत कोषाध्यक्ष बनेका गाउँपालिका अध्यक्ष भुजेलका प्रमुख सल्लाहकार तुलसीमान तामाङको नाममा संयुक्त दस्तखत चल्ने गरी खाता खोल्नको लागि सिफारिस दिएको आरोप लगाएका छन्।

पुरानो खाता हुँदाहुँदै नयाँ खाता खोल्न सिफारिस दिई खाता खोली रकम निकाली मिलेर खाएको उनीहरूको आरोप लगाएका छन्।

भुम्लु गाउँपालिका– ५ मुलाबारीमा अवस्थित होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बा पुनर्निर्माणका लागि गुम्बा पुनर्निर्माण प्राधिकरणबाट बजेट परेको थियो।

प्राधिकरणबाट ७० प्रतिशत र उपभोक्ता समितिबाट ३० प्रतिशत व्यहोर्ने गरी करिब ८० लामा गुम्बा पुनर्निर्माण भएको थियो। गुम्बा निर्माण सम्पन्न भएर पाँच लाख चानचुन रकम बचेको थियो। उक्त रकम गुम्बाको बैंक खातामा रहेको थियो। 

गुम्बा व्यवस्थापन तथा पुनर्निर्माण उपभोक्ता समितिमा अध्यक्षमा डुक्मा दोर्जे लामा, सचिवमा अमृतकुमार लामा, कोषाध्यक्षमा अनिता गुरुङ, सदस्यहरूमा मठराम तामाङ, शर्मिला तामाङ, मनमाया तामाङ र भोजबहादुर तामाङ लामा रहेका थिए।

त्यसरी नै आन्तरिक अनुगमन तथा सुपरिवेक्षण समिति पनि निर्माण भएको थियो जसमा संयोजक सुरेन्द्रदेव लामा र सदस्यहरूमा निरबहादुर लामा र इन्द्रबहादुर तामाङ रहेका थिए।

होदसल धोङाग क्षोइलिङ ताम्सालिङ गुम्बाको नाममा राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा तीनजनाको हस्ताक्षर चल्ने गरी खाता सञ्चालन गरेको थियो। उक्त खाता नं. १०४०१०००१६०६८००१ मा समितिका अध्यक्ष डुक्मा दोर्जे लामा, सचिव अमृतकुमार लामा र कोषाध्यक्षमा अनिता गुरुङको संयुक्त हस्ताक्षर चल्ने गरी खाता सञ्चालनमा थियो।
 
अमृतकुमार लामाका अनुसार अध्यक्ष डुक्मा दोर्जे लामाले सचिव अमृतकुमार लामा, कोषाध्यक्ष अनिता गुरुङलगायत अन्य सदस्यहरूलाई थाहा नै नदिई समिति पुनर्गठन गरी नयाँ समिति बनायो। 

जुन समितिमा सचिव अमृतकुमार लामालाई हटाएर कोषाध्यक्ष गुरुङलाई सचिव बनाई कोषाध्यक्षमा समितिमै नभएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेलका प्रमुख सल्लाहकार तुल्सीमान तामाङलाई बनाइयो।

जुन कुरा कोषाध्यक्षबाट बढुवा भएर सचिव बनेकी गुरुङलाई पनि थाहा थिएनन्। अन्य सदस्यहरू यथावत् राखियो। त्यसपछि गाउँपालिकामा कागजात बुझाइ नयाँ खाताका लागि सिफारिस माग भयो र गाउँपालिकाको अध्यक्ष प्रेमबहादुर भुजेलद्वारा हस्ताक्षरित सिफारिस लिएर पुनर्गठित समितिका अध्यक्ष डुक्पा दोर्जे लामा र तुलसीमान तामाङको संयुक्त हस्ताक्षर चल्ने बनाएपछि रकम निकालेर खाता बन्द गरेको बुझिएको छ।

खातामा रहेको पाँच लाख र ब्याजसमेत निकाली मिलेमतोमा खाएको निवेदकहरूको आरोप छ।
 

सुझावित समाचार