श्रीमतीको हत्या आरोपमा श्रीमानसहित चारजना पक्राउ

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

श्रीमतीको हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानसहित चारजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका– १९ बस्ने २८ वर्षीया प्रियंका सुनारको हत्या आरोपमा उनका श्रीमान् २९ वर्षीय रमेश साहसहित चारजनालाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका– ५ का  ३५ वर्षीय  उमेश सरदार, ६२ वर्षीय रमानन्द राम र  विराटनगर– ७ का  ५३ वर्षीय श्रीराम चौधरी छन् । मोरङका एसपी दीपक पोखरेलका अनुसार पक्राउ पर्ने सरदार र चौधरी ‘सुपारी किलर’ बनेर हत्यामा प्रत्यक्ष संलग्न रहेका थिए । रामानन्दले लास व्यवस्थानका लागि एम्बुलेन्स खोज्न सघाएका थिए ।

एसपी पोखरेलका अनुसार श्रीमान् साहले सम्बन्धमा खटपट आएपछि ६ फागुनको दिउँसो भाडाका हल्याराहरू प्रयोग गरेर प्रियंकाको हत्या गरेका थिए । मोरङको बुढीगंगा गाउँपालिका– २ स्थित अमाही टोलमा नरसिंह चौधरीको घरको ग्वालीमा लगेर मुख थुनेर घाँटी थिची कुटपिट गरेर हत्या गरेका बताइएको छ ।

हत्यापछि उनीहरूले शव बोरामा हालेर परालले छोपेर छाडेका थिए । हत्या गरेर ग्वालीमा लुकाएको शव अन्यत्रै लगेर गायब बनाउन कोशी अस्पतालमा एम्बुलेन्स खोज्ने क्रममा आइतबार राति प्रहरीले रामानन्द रामलाई नियन्त्रणमा लिएर खोजी गर्दा हत्याको रहस्य खुलेको हो ।

See More On

सुझावित समाचार