भारतले सहयोगस्वरूप नेपाललाई दुई सय मिर्गाैला डायलाइसिस मेसिन उपलब्ध गराएको छ । सोमबार काठमाडौंमा आयोजित समारोहमा भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलाइसिस उपकरण हस्तान्तरण गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई डायलाइसिस मेसिन हस्तान्तरण गरेका हुन् । सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको बताउँदै राजदूत श्रीवास्तवले उपलब्ध डायलाइसिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने बताएका हुन् ।
स्वास्थ्यमन्त्री गिरीले ०७२ मा गएको विनाशकारी भूकम्प र कोभिड संकटका वेला पनि भारत सरकारले उल्लेखनीय सहयोग गर्दै आएको र डायलाइसिस मेसिन उपलब्ध गराएकोमा आभार व्यक्त गरेका छन् । करिब एक वर्षअघि नेपाल सरकारको तर्फबाट दुई सय मिर्गौला डायलाइसिस मेसिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो ।
नेपालमा पर्याप्त डायलाइसिस सेन्टर र मेसिन उपलब्ध नहुँदा सरकारी अस्पतालमा उपचारका लागि बिरामीले पालो कुर्नुपर्ने बाध्यता छ । सरकारले डायलाइसिस सेवा निःशुल्क गराए पनि सरकारी अस्पतालको सीमित उपकरण र जनशक्तिका कारण विपन्न मिर्गाैला बिरामी उपचारको सहज पहुँचबाट वञ्चित छन् ।