राष्ट्रिय सहमतिको राष्ट्रपति बन्न कति सम्भव देखिन्छ ?
राष्ट्रिय सहमति भनेको नारा मात्र हो । यो न हिजो सम्भव थियो, न आज सम्भव छ र न भोलि नै सम्भव हुनेछ । यहाँ देशभरको सहमतिको त कुरै छाडौँ, स्वयं दलहरूबीच पनि सहमतिको सम्भावना छैन । एउटै दलभित्र पनि सहमति सम्भव नहुने वेलामा राष्ट्रिय सहमतिको कुरा गर्नु मिथ्या प्रचारबाजी मात्र हो । यो सब एकले अर्कालाई राष्ट्रपति नदिने आवरण मात्र हो । सबै प्रमुख पद एमालेको पोल्टामा जाने भयो भन्ने डरबाट उब्जेको हो राष्ट्रिय सहमतिको राष्ट्रपतिको प्रस्ताव । सबै प्रमुख पद एमालेको पोल्टामा गयो भने माओवादी त सक्किन्छ नै, साथमा लोकतन्त्र पनि धरापमा पर्न बेर छैन ।
पछिल्ला दिनमा पुरानै गठबन्धनका दलहरू नजिकिँदै गरेका हुन् कि ?
राष्ट्रपतिमा लेनदेन मिल्यो भने हिजो केपी ओलीको प्रतिगमनविरुद्ध उभिएका दलहरूबीच पुनः सहमति भई उनीहरू एकै ठाउँमा उभिन सक्ने सम्भावना छ । यसका लागि राष्ट्रपति निर्वाचन एउटा ठुलो ‘टर्निङ प्वाइन्ट’ बन्न सक्छ । यतिवेला एमालेले बुद्धि पुर्याएन भने हिजो देउवाले जस्तै सर्वस्व गुमाउनुपर्ने अवस्था आउन पनि सक्छ ।
राष्ट्रपति निर्वाचनपछि अहिलेकै गठबन्धन कायम रहने सम्भावना कति देख्नुहुन्छ ?
यो सब एमाले अध्यक्ष ओलीको भूमिकामा निर्भर हुन्छ । पहिलेको गठबन्धनमा रहेका दलहरू नजिकिए र अर्को गठबन्धन बन्ने भयो भनेर ओली थप आक्रामक भए भने यो गठबन्धन भत्किन पनि सक्छ । नत्र, यसै भन्न सकिन्न ।